विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि हुन्छ : उपप्रधानमन्त्री महासेठ

मंगलबार, चैत २७, २०८०

काठमाडौँ - उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको बताउनुभएको छ ।

    साझा यातायातले विद्युतीय सवारीसाधनका लागि सञ्चालनमा ल्याएको ‘चार्जिङ स्टेसन’को शुभारम्भ गर्दै उहाँले पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारीसाधन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    करिब चार वर्ष अगाडि आफू मन्त्री हुँदा साझा यातायातलाई विद्युतीय बसको पूर्वाधार तथा सञ्चालनका लागि रु तीन अर्ब निकासा गरेको गर्दै मन्त्री महासेठले पछिल्लो समय कार्यसम्पादनमा ढिलासुस्ती भएको बताउनुभयो ।

    भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले सहकारी ऐनअन्तर्गत रहेको साझा यातायातले विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागेकामा खुसी व्यक्त गर्दै आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफ्नो क्षेत्रमा विद्युतीय बस सञ्चालनका लागि साझा यातायातसँग सहकार्यका साथै लगानी वृद्धि गर्ने जानकारी दिनुभयो । 

    नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले प्राविधरणले निर्माण गरेको करिब चार सय चार्जिङ स्टेशनबाट रु दुई करोडको विद्युत् खपत हुने गरेको जानकारी दिनुभयो ।

    साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले संस्थाको बिजुली बस थप्ने कार्य योजना तथा प्रगतिको जानकारी दिँदै उक्त स्थलमा १.१ मेगावाट विद्युत् खपत हुने २४ चार्जिङ पोइन्ट निर्माण गरिएको बताउनुभयो । देशभर एक हजारभन्दा बढी विद्युतीय सवारी साधन सञ्चालनमा छन् । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्