अमेरिकामा कराते खेलाडी एरिकालाई सम्मान

सोमबार, चैत २६, २०८०

 एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख रुपैयाँ भन्दा बढी रकमसहित सम्मानित भएकी छन् ।

११ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा एरिकालाई ७ हजार ११ अमेरिकी डलर (९ लाख ३२ हजार ४ सय ६३ रुपैयाँ) र प्रमाण पत्र सहित सम्मान गरिएको हो ।

युएसए ओपन कराते च्याम्पियनसिपमा भाग लिनका‌ लागि अमेरिका पुगेकी एरिकालाई‌ सम्मान गरिएको हो ।

उनलाई तमु परिवारले २ हजार ७ सय ५६, तमु सोसाईटीले ९ सय ५३, सुदुरपश्चिम समाजले ५ सय ५०, इन्टरनेशनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले १ सय ९०, मामा भान्जा ग्रुपले १ हजार १०, रेड पाण्डाले २ सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहोगीहरूबाट रकम संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिए ।

दुई महिनाअघि न्युयोर्कमा सुरु भएको च्याम्पियनसिप मार्सल आर्ट्समा नेपाली समुदायका बालबालिका लागि हरेक आइतबार निःशुल्क ताईची र छि गुंग कक्षा सञ्चालन गर्ने लामाले घोषणा गरेका छन् ।​

युएसए ओपनमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा रजत पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ औँ एसियाडमा एरिकाले रजत पदक जितेकी थिइन् । एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन् ।

लामाको सभापतित्वमा भएको कार्यक्रममा १३औँ एसियाडका कास्य पदक विजेता सम्बर बहादुर गोलेले एरिकालाई‌ सम्मान गरेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्