आरजु राणा भारतमा, शेरबहादुर देउवा प्रचण्ड भेट्न बालुवाटारमाः केही रहस्य अवश्य छन् 

बिहीबार, चैत १५, २०८०

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विहीबार बालुवाटारमा भेट गरेका छन्। 

सत्ता गठबन्धन परिवर्तन भएपछि देउवाले पहिलो पटक प्रचण्डलाई भेटेका हुन्। राष्ट्रिय मुद्दामा मिलेर जान प्रचण्डले आग्रह गरेका विवरण सतहमा आएका छन्। तर, यो भेटवार्तालाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ। 

यहि बेला कांग्रेसमा प्रभाव राख्ने देउवापत्नी तथा कांग्रेस नेत्री आरजु राणा भारतमा छिन्। उनी उपचारका लागि त्यहाँ पुगेको भन्ने विवरण पनि एकै दिन सार्वजनिक हुनुलाई शंकास्पद पनि मानिएको छ। किनभने सत्ता गठबन्धन परिवर्तन हुनासाथ आरजु नयाँ दिल्ली पुगेकी थिइन्। 

यसबाहेक भूराजनीतिक हिसाबमा नेपालको सत्ता समीकरणमा प्रभाव पर्दै आएको छ। यहि बेला चिनियाँ अधिकारी सत्ता गठबन्धनका दल र प्रधानमन्त्री प्रचण्डसँग बाक्लो भेट गरिरहेका थिए। 

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमणमा गएका थिए। उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरिसकेका छन्। 

यहि बेला भारतका विभिन्न मिडियामा भारतीय विदेशमन्त्री एस जयशंकरका अन्तरवार्ता पनि आएका थिए। नेपालको सत्ता समीकरणमा परिवर्तन आउनुको प्रभाव यति मात्र देखिएन, सेवा अवधि सकिए पनि नेपाल मामिला जानकार भारतीय विदेशमन्त्री बिनयमोहन क्वात्राको ६ महिना म्याद थपिनु पनि रोचक र गहिरो मानिएको छ। 

स्मरण रहोस्, नेकपा विभाजनपछि आरजुको भारत भ्रमणले रोचक चर्चा पाएको थियो। त्यहि बेला भारतस्थित नेपाली दूतावासमा आरजु र प्रचण्डको भेटको विषयमा पनि कम चर्चा भएको थिएन।

यी सबै घटनाक्रमभित्रका आन्तर्यका तथ्य सार्वजनिक नभए पनि सत्ता गठबन्धन र समीकरणलगायतका विषयमा केही रहस्य रहेको स्वभाविक अनुमान गरिन्छ। किनभने, नेपालको आन्तरिक राजनीतिक समीकरणमा भारतले लामो समयदेखि नखेलेको होइन। 

आखिर के हुँदैछ?, यो हेर्न बाँकी नै छ। कतिपय राजनीतिक जानकारका अनुसार आगामी महिना भारतमा हुने लोक सभा निर्वाचनपछि केही न केही खुलासा हुन्छ नै, त्यसअघि यी सबै चलखेलका संकेत र प्रभाव देखिनेछन्।
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्