रिपोर्ट

भटाभट भेटिन थाले युवतीका शवः कोही प्रेम लाउँदा मारिए, कोही लाउँदीन भन्दा मारिनु पर्‍यो

बिहीबार, चैत ८, २०८०

काठमाडौं– एक साताबीच चार जना युवतीको शव भेटिए। कसैको हत्या भएको थियो भने कोही रुखमा झुन्डिएको अवस्थामा समेत फेला परेका समाचार सतहमा आए। 

यी मध्य दुई जनाको हत्या प्रेमका कारण भएको खुलीसकेको छ भने दुई जनाको मृत्युको कारण खुल्न बाँकी छ। 

पछिल्लो पटक सुनसरीको धरान उपमहानरपालिका–१८ मा हत्या गरेको अवस्थामा धरान– १६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना श्रेष्ठको शव फेला पर्यो। 

युवतीको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

श्रेष्ठ धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन्। उनको हत्याको कारण खुलाउन सुनसरी प्रहरी सक्रियताका साथ अनुसन्धानमा लागेको छ। 

श्रेष्ठअघि बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै पूर्व प्रेमीले गरेको खुलेको थियो।

प्रेममा धोका पाएपछि चन्द्रिकाका पूर्वप्रेमी शिवशङ्कर दासले चन्द्रिकाको हत्या गरी आफूले पनि आत्महत्या गरेको पनि पुष्टि भएको छ।

दास झुन्डिएको अवस्थामा विराटनगरको एक होटलमा फेला परेका थिए। चन्द्रिकाको हत्या भएको स्थान भन्दा ३ सय मिटर नजिकै फाइन होटलको कोठा नम्बर १०२ मा शिवशङ्कर दास झुन्डिएको अवस्थामा फेला परेका थिए। चन्द्रिकाको शव शुक्रबार फेला परेको थियो।

सिराहा घर भएकी दासको धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि उनका दुईजना प्रेमी रहेको खुलेको थियो। प्रहरीका अनुसार झुन्डिएको अवस्थामा फेला परेका २२ वर्षीय शिवशङ्कर दास वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए।

‘चन्द्रिकाको हत्या गरेँ । अब म पनि आत्महत्या गर्छु भनेर शिवशङ्करले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पनि रहेछन्’ भन्ने प्रहरीले अनुसन्धानमा खुलायो।

यता एकतर्फी प्रेमका कारण हत्या भएको अर्को घटनाको खुलासा भएको थियो। लामो समयदेखि एकतर्फी प्रेम गर्दै आएका २१ वर्षीय रुपेन्द्र लामाले प्रेम प्रस्ताव अस्वीकार गरेकै आधारमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ कि १८ वर्षीय सुष्मा लामाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सुष्माको हत्यामा संलग्न २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको थियो। माघ २४ गते कलेज जाने बाटोमा सुष्माको हत्या भएको थियो। 

कलेज जाने बाटोबाट करिब १० मिटर तल गोकर्णेश्वर नगरपालिका– ३ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा दुई वटा हात मात्र देखिएको र शरीरको अन्य भाग पुरिएको अवस्थामा प्रहरीले उनको शव फागुन २४ गते  फेला पारेको थियो।

घटनाको दिन मृतक एक्लै कलेज गइरहेको अवस्थामा रुपेन्द्रले बाटो छेकेर प्रेम प्रस्ताव राखेको र लामाले इन्कार गर्दा आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

प्रेम प्रस्ताव अस्वीकार गरेपछि पछाडिबाट घाँटी थिची अचेत बनाई पहिले नै रेकी गरेको स्थानमा लगेर टाई र जुत्ताको तुनाले घाँटीमा कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ। सुष्मा मरेपछि कुटोले खाल्डो खनी पुरेको प्रहरीको अनुसन्धानको क्रममा खुलेको थियो।

यता पशुपति क्षेत्रमा एक युवतीको शव सोही समयमा फेला पर्यो। पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जंगलमा सिन्धुलीको कमलामाई नगरपालिका– १ घर भई हाल कपनमा बस्दै आएकी युवतीको शव भेटिएको थियो। 

१९ वर्षीया सुस्मिता थापाले दुई दिनअघि दिदीकहाँ जान्छु भनेकी थिइन्। तर, उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो। उनले के कारणले आत्महत्या गरेकी हुन् भन्ने खुल्न र खुलाउने क्रममा प्रहरीले अनुसन्धान जारी राखेको छ।

अहिले अधिकांश अपराधको कारण प्रेम सम्बन्ध पनि देखिन थालेको प्रहरी अधिकारीहरू बताउँछन्। खासगरी किशोरबय अवस्थामा आफ्ना सन्तानको विषयमा चासो दिने, मनोविज्ञान बुझ्ने काममा अभिभावक लाग्नुपर्ने सुझाव अनुसन्धान अधिकारीहरू बताउँछन्। 

मनोविदहरूलेचाहिँ सन्तानले कहाँ के गरिरहेका छन् र उनीहरू भावनाका विषयमा अभिभावकले आवश्यक जानकारी राखिरहनुपर्ने सुझाव दिएका छन्। त्यसो गरे आत्महत्याको बाटोसम्म किशोरकिशोरी नपुग्ने उनीहरू बताउँछन्।
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्