भारतका पूर्वकुटनीतिज्ञको दाबी– चीनले एमाले–माओवादी र अमेरिकाले रास्वपा गठबन्धनमा छिरायो

बुधबार, चैत ७, २०८०

काठमाडौं– नेपाल जानकार भारतका एक पूर्वकुटनीतिज्ञले अहिलेको सत्ता समीकरणलाई ‘चीन–अमेरिका’ गठजोडका रुपमा व्याख्या गरेका छन्। 

एउटा आलेखमार्फत नेपालका लागि भारतीय राजदूत रहिसकेका मन्जिभसिंह पुरीले यस्तो दाबी गरेका हुन्। भारतको पत्रिका ‘ट्रिब्युन इन्डिया’मा एक आलेखमार्फत पुरीको यो दाबी सतहमा आएको हो। जबकि, भारतीय विदेशमन्त्री एस जयशंकरले युगान्डामा नै प्रधानमन्त्री प्रचण्डसँगको भेटमा गठबन्धन फेरिने संकेत पाइसकेको एउटा अन्तरवार्तामा बताएका थिए।

पुरीका अनुसार अहिलेको सत्ता गठबन्धनमा चीनले एमाले र माओवादीलाई मिलायो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई युरोप अमेरिकाले छिराएको हो। यसकारण यो गठबन्धन चीन–अमेरिकाको रहेको पुरीको दाबी छ। 

उनले आलेखमार्फत केही नयाँ विषयबस्तु पनि खुलासा गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली हिन्दु राज्य र सांस्कृतिक राजाको पक्षमा रहेको दाबी गरेका छन्। यसबाहेक प्रचण्ड पनि राजसंस्थाका विषयमा नरम रहेको दाबी गरेका पुरीले कांग्रेस हिन्दु राज्य ल्याउन अग्रसर रहेको पनि जनाएका छन्। 

मुख्य दलले काम गर्न नसकेको र नकारात्मकता फैलाएका कारण राजसंस्था र हिन्दूत्वको विषयमा नेपालमा जनमत बलियो बनिरहेको उनको दाबी छ।
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्