धादिङमा ४.५ मेगावाटको जलविद्युत आयोजना निर्माण हुँदै

मंगलबार, चैत ६, २०८०

काठमाडौं - धादिङमा ४.५ मेगावाटको गशली खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । हिमशिला पावर कम्पनी लिमिटेडले धादिङको खनियाँबास गाउँपालिका भएर बग्ने गशली खोलाको पानी उपयोग गरेर जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । प्रस्तावित जलविद्युत् आयोजनाको विस्तृत अध्ययन पूरा भइसकेको छ ।

कम्पनीले विद्युत विकास विभाग समक्ष उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गर्दै आवेदन दिएको थियो । अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

विभागले सार्वजनिक सूचना प्रकाशन गरेर आयोजना निर्माण र सञ्चालन गर्दा प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ ।

यो आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो । यसको डिजाइन बहाव १.३५ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ४१८ मिटर हुनेछ ।

यो आयोजना वार्षिक सरदर २६.४२ गिगावाट आवर विद्युतीय ऊर्जा उत्पादन गर्न सक्छ । २२२५.२ मिटर हेडरेस पाइप राखिनेछ । १४३८.८ मिटर लम्बाईको पेनस्टक पाइप राखिनेछ । यो आयोजनाबाट २०८४ बैशाख ३० गतेदेखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्