कोशीको मुख्यमन्त्रीमा केदार कार्कीको विकल्प नभएको कांग्रेसको निचोड

बिहीबार, चैत १, २०८०

काठमाडौं– सत्ता गठबन्धन फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसले हात धुने स्थिति आएको छ। तर, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताले कोशी प्रदेशमा भने मुख्यमन्त्री केदार कार्कीको विकल्प नै नरहेको ठहर गरेको छ। 

देउवा निवास बुढानिलकण्ठमा विहीबार बसेको उपसभापति, महामन्त्री, कृष्ण सिटौला र मुख्यमन्त्री कार्कीसहितको बैठकले यस्तो निचोड निकालेको हो। 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएर विश्वासको मत पाएका थिए। अब उनीविरुद्ध अविश्वासको प्रस्ताव समेत ल्याउन नमिल्ने भएका कारण कार्कीको विकल्प नरहेको निचोड निकालिएको महामन्त्री गगनकुमार थापाले जानकारी दिए। 

अघिल्लो गठबन्धनमा डा. शेखर कोइरालाले विद्रोह गराएर कार्कीलाई मुख्यमन्त्री बनाएका थिए। एमालेको सहयोगमा मुख्यमन्त्री बन्दा सरकार गठनको संविधानको अन्तिम विकल्पकै उपयोग गरेका कारण कार्कीको पद जाने सम्भावना नै नभएको निष्कर्श निकालिएको हो। 

यस्तो स्थितिमा नयाँ गठबन्धनले ६ वटा प्रदेश सरकारमा मात्र धक्का दिन सक्छन्।
 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्