नयाँ सत्ता समीकरणः एमालेले महत्वपूर्ण मन्त्रालय छाड्नु र जसपा सहभागी नहुनुको परिणाम के होला?

बिहीबार, फागुन २४, २०८०

काठमाडौं– नयाँ सत्ता समीकरणसँगै बनेका नयाँ उपप्रधानदेखि अनेक मन्त्रालयको जिम्मेवारी लिएका मन्त्रीले कार्यभार सम्हालेका छन्। भटाभट पहिलो निर्णयसहितका कतिपय निर्देशन पनि जारी गरिसकेका छन्। यद्यपि, नयाँ सत्तासमीकरणको उत्साह र उमंग बलियो देखिएको छैन। किनभने, नेपाली कांग्रेस अहिले पनि यो समीकरणको विपक्षमा नेपथ्यमा खेल्न सक्ने ‘स्पेश’ खोजीरहेको छ।

अकास्मात् प्रचण्डले गठबन्धन फेरेर एमालेसहितको सहयोगमा सरकारको नयाँ प्रारुप दिएपछि राष्ट्रिय राजनीतिमा नै तरङ्ग आएको थियो। तर, कांग्रेसले माओवादीले धोका दिएको निचोड निकाल्दै प्रचण्डलाई नै केही दिनमा सत्ताबाट ओराल्ने खेल खेलिरहेको उच्च स्रोतले जनाएको छ। 

त्यसका लागि कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत प्रधानमन्त्री पदको अफर गरेका चर्चा सतहमा आएका थिए।

‘ढिलोचाँडो माओवादी अध्यक्षका लागि कांग्रेसले सरप्राइज दिनेछ, सरकार लामो समय जान्छ भन्ने लागेको छैन’, स्रोतले भन्यो,‘पुस १० मा पनि कांग्रेस सरप्राइज भयो तर सत्ता ट्रयाकमा ल्याउन सफल भएको थियो। यस पटक पनि स्पेश पाउनासाथ प्रयोग गर्नेछ।’

पुस १० मा बनेको प्रचण्ड नेतृत्वको सरकारबाट एमालेलगायतको अहिलेका गठबन्धनका अन्य दल बाहिरिने स्थिति आयो। ३२ दिनमा नै सरकारको गठजोड आकस्मिक रुपमा भत्कियो। यसका पछाडि देशी मात्र नभएर विदेशी कारण समेत रहेको खुट्याइएको थियो। फेरि सोही गठबन्धन मात्र बनेको छैन, यसको मूल कसी बनेको एमालेले अर्थ र गृहजस्ता महत्वपूर्ण मन्त्रालय नै लिएको छैन भने जनता समाजवादी पार्टी सरकारमा सहभागीता जनाउन अनिञ्छुक देखियो। यसको आन्तर्य अथवा परिणामचाहिँ यो सरकार लामो समय जान्छ या जाँदैन भन्ने संशयको घेरामा छ।

‘सरकारको नेतृत्व पाएको खण्डमा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई बोकिरहन्छन् भन्ने छैन। जसरी पहिला धोका पाएका छन्, त्यसको बदलाभाव त हुनेछ भन्ने कांग्रेसले ठानेको छ’, स्रोतले भन्यो,‘त्यसको प्रयोगमा कांग्रेस सफल हुनेछ।’

यति मात्र नभएर सत्ता समीकरणका विषयमा अमेरिका र भारतले पनि चासो देखाएको बताइन्छ। अहिले बनेको समीकरण चिनियाँ पक्षको इच्छाको आधारमा भएको बताइन्छ। यसैकारण पनि कम्युनिस्ट पार्टीलाई एक ठाउँमा उभ्याउने खेल भएको बताउँदै उच्च स्रोतले भन्यो,‘तर अमेरिका र भारतले आफ्नो प्रभाव कमजोर भएको सहन सक्लान्? त्यसमा नै नेपालको सत्ता राजनीतिको खेल नीहित हुनेछ।’

अहिलेको सत्ता समीकरणको परिणाम विश्वासको मत लिने एक महिनाको समयसीमासम्म प्रष्टिने पनि कतिपयको बुझाई छ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्