नयाँ सरकारमा एमालेबाट बिमलाबाहेक ३२ दिने मन्त्री फर्किने सम्भावना, जिम्मेवारी हेरफेर हुनसक्छ

मंगलबार, फागुन २२, २०८०

काठमाडौं– नयाँ सत्ता गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा एमालेबाट ३२ दिन मात्र जिम्मेवारी पाएका नेता मन्त्रीका रुपमा फर्किने सम्भावना बढेको छ। 

जिम्मेवारी नतोकि पदम गिरीलाई मन्त्रीमा सपथ गराएपछि पुरानै मन्त्री फर्किने चर्चा चलेको हो। 

अघिल्लो पटक एमालेको समर्थनमा प्रधानमन्त्री प्रचण्ड नियुक्त हुँदा एमालेबाट आठजना मन्त्रि नियुक्त भएका थिए। 

त्यस मध्य बिमला पौडेल परराष्ट्र मन्त्री थिइन्। उनीबाहेक उपाध्यक्ष विष्णु पौडेल, ज्वालाकुमारी साह, हरि उप्रेती, राजेन्द्र राई, भगवती चौधरी र दामोदर भण्डारी नै मन्त्री हुने सम्भावना रहेको एमाले उच्च स्रोतले जनाएको छ। 

सत्ता समीकरण मिलाउनका लागि जिम्मेवारी हेरफेर हुन सक्ने सम्भावना रहेको छ।

त्यसबेला अर्थमन्त्री रहेका उपाध्यक्ष पौडेल उपप्रधानसहित गृहमा हुने सम्भावना छ। ज्वालाकुमारी साह कृषि, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य मन्त्री थिए। यस पटक गिरीलाई सूचना प्रविधि र सरकारको प्रवक्ताको जिम्मेवारी दिने चर्चा चलेको छ। मन्त्रालयको बाँडफाँट सकिएपछि जिम्मेवारी हेरफेर हुन सक्ने सम्भावना छ। भगवती चौधरीलाई सम्भवतः कृषि मन्त्रालयको जिम्मेवारी दिन सकिने चर्चा छ। 

अहिले विमला पौडेल सांसद छैनन्। उनी राष्ट्रियसभामा ६ वर्षे कार्यकाल पूरा गरेर दुई दिनअघि नै बिदा भइसकेकी छन्। तर कतिपयले उपाध्यक्ष पौडेल पनि सरकारमा जान इच्छुक नरहेको बताइरहेका छन्। अर्थ मन्त्रालय माओवादीले नै राख्ने लगभग पक्कापक्की छ।

उक्त मन्त्रालयको जिम्मेवारी उपमहासचिव बर्षमान पुनले पाउने सम्भावना छ। 
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्