कोटेश्वरमा प्रचण्ड–नेपाल

माधव नेपालः नयाँ सत्ता गठबन्धनका लागि लौरो न हतियार

मंगलबार, फागुन २२, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन तयार पारेपछि त्यसमा नैतिक समर्थनको खोजी गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगे, उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित । 

कोटेश्वर निवासमा माधवकुमार नेपालले उनको स्वागत गरे पनि निक्कै मिठो कुराकानीचाहिँ भएन । बरु, अध्यक्ष नेपालले प्रचण्डलाई घोचपेच गरिदिए । बहुमत चाहिएपछि भेट्न आउनुभयो, निर्णय गर्दा किन सोध्नुभएन ? भनी माधवकुमार नेपालले प्रचण्डसामु प्रश्न राखे । 

तर, प्रचण्डले बामपन्थी एकताको विषयलाई अगाडि सारिदिए। नयाँ गठबन्धनको सबैभन्दा ठूलो साझेदार नेकपा एमालेसँग चिसो सम्बन्ध कायम राखेका अध्यक्ष नेपाल त्यति सकारात्मक देखिएनन् । उनलाई सकारात्मक बनाउनका निम्ति प्रचण्डको आग्रहमाा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाट अध्यक्ष नेपाललाई टेलिफोन गरे, मंगलबार बिहान ।

संवादहिनता र वैमनश्यता टुटाएर सत्ता समीकरणमा सहभागी हुन माधव नेपाललाई आग्रह गरिएको बालुवाटारस्थित उच्च स्रोतले जानकारी दिएको छ ।

आवश्यक अवस्थाअनुसार निर्णय गरेर जाने नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले निर्णय गरेको थियो । यदि उ सरकारमा आउन नचाहे वा समर्थन नगरे पनि प्रचण्डका लागि घाटाको विषय छैन । साँच्चै भन्ने हो भने नयाँ गठबन्धनका लागि नेकपा एकीकृत समाजवादी न लौरो कायम हुनेवाला छ न त हतियार नै। तैपनि सहयात्रा निम्ति प्रचण्डको प्रस्ताव सकारात्मक रुपमा पुगेको माओवादी उच्च तहका नेता बताउँछन् ।   

सरकारलाई आवश्यक बहुमत १३८ हो । जसमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१ र जसपाका १२ जनाले नै बहुमत कायम गर्छ। यसमा थपिनेछन् जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ जना। यसबाहेक लोकतान्त्रिक समाजवादी पार्टीका ४ पनि गठबन्धनका पक्षमा खुल्नेछन् । 

यति हुँदा प्रचण्ड सरकारलाई १५६ जना सांसदको समर्थन हुनेछ । सरकार टिकाउनका लागि प्रचण्डलाई कुनै अप्ठ्यारो नहुने हुँदा मानकका रुपमा माधवकुमार नेपाल पक्षका नौ जना सांसदको पनि समर्थन खोजेका हुन् । तर, गठबन्धनकै लागि माधवकुमार नेपाल ठूलो हतियार बन्ने अथवा टेकोका लागि लौरो हुनुपर्ने आवश्यक देखिँदैन । तैपनि प्रचण्ड अहिलेको सरकारलाई बाम गठबन्धनको बनाउन चाहने भएकाले माधव नेपालको समर्थन खोज्न पुगेका थिए ।

नेपालमा छरिएर रहेका बामपन्थी दललाई एक ठाउँमा उभ्याउनेगरी अहिलेको समीकरण बनेको दाबी गरिन्छ । यद्यपि यसमा प्रचण्डले सरकार सहज ढंगले चलाउने नपाएको विकल्पमा यस्तो स्थिति आएको पनि बताइन्छ । 

जे होस्, देशको राजनीतिक स्थितिले लिएको नयाँ मोडमा अब के कस्ता घटना हुनेछन् त्योचाहिँ हेर्न बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्