सत्ता गठबन्धनमा युटर्न

अस्थिर सरकारका महारथी प्रचण्डः यस्तो छ बिगतदेखिको उथुलपुथुल

मंगलबार, फागुन २२, २०८०

काठमाडौं– सत्ता समीकरण फेरिएकै दिन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा कार्यक्रममा भने,‘म बाँचुञ्जेल उथुलपुथुल भइरहन्छ।’

सत्य बचन !

विभिन्न पार्टीसँगको गठजोडीय खेला गर्दै विगत १६ बर्षदेखि निरन्तर सत्तामा रहेका प्रचण्ड अस्थिर सरकारका महारथी नै साबित भइसकेका छन् । 

खासगरी गठबन्धन बनाउने, भत्काउने अनि सरकारको समीकरण समय–समयमा परिवर्तन गर्ने उनको बिगतकै शैली हो। यसबाहेक आश्वासनपछि धोका दिने राजनीतिक दाउपेचमा पनि उनी सक्रिय नै रहे । 

पहिलो संविधान सभा निर्वाचनपछि बनेको व्यवस्थापिका संसदमा माओवादीको बेजोड उपस्थिति थियो। पहिलो दल भएपछि प्रचण्डको नेतृत्वमा सरकार गठन भए पनि त्यो अस्थिर रह्यो ।

युद्धपछिको शान्ति सम्झौता र चुनावी राजनीतिको रापतापसहित सत्तामा पुगेका प्रचण्डले तत्कालिन नेपाली सेनाका प्रधानसेनापति रुक्माङगत कटवाल हटाउने निर्णय गरी एउटा उथुलपुथुल गरेका थिए । 

फलतः उनले सत्ता गुमाउन परेको थियो र विकल्पमा तत्कालिन एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा अर्को सरकार बन्यो । तर, सडक आन्दोलन गर्दै प्रचण्डले उत्त सरकारलाई पनि लामो समय चल्न दिएनन् । 

कार्यकारी र कामचलाउ गरी बढीमा २२ महिना टिकेको नेता नेपाल नेतृत्वको सरकार अपदस्त गरी एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनालसँगको गोप्य सम्झौता गरी प्रचण्डले अर्को सरकार गठन गरे । 

त्यसबीचमा प्रधानमन्त्रीका लागि हालका राष्ट्रपति रामचन्द्र पौडेलले गिनिज बुकमा नाम लेखाउने जस्तै गरी १७ पटक उम्मेदवारी दिए तर बहुमत जुटाउन सकेनन् । कारण थिए– प्रचण्ड। 

पछि खनालसँग ७ बुँदे गोप्य सम्झौता गरी माओवादी–एमालेको सरकार बनाए। तर, त्यो ६ महिना पनि टिक्न सकेन । प्रचण्डले ल्याएको यो अर्को उथुलपुथुल थियो । यसबाहेक अर्को सरकार गठनमा पनि प्रचण्ड हावी भए । 

माओवादीभित्र चलेको अन्तरद्वन्द्व व्यवस्थापन गर्नेगरी तत्कालिन उपाध्यक्ष रहेका डा. बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वमा मधेसवादी दलसहितको सरकार बन्यो ।

केही समयपछि एमालेलाई पनि समावेश गरेको उक्त सरकारले लामो समय काम गर्न पाएन किनभने पहिलो संविधान सभाको असफलताको अन्त्यको अपजस मात्र बोक्न भ्यायो। त्यहाँ भयो फरक उथुलपुथुल ।

यसपछि दोस्रो संविधान सभाको निर्वाचन गर्ने दलीय सहमतिमा अग्रसरता लिएका प्रचण्डले तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा निर्दलीय चुनावी सरकारको प्रस्ताव गरी पारित गराए । 

उक्त सरकारले चुनाव गरेपछि माओवादीको साइज घट्यो । संविधान सभामा उसको स्थिति तेस्रो दलमा रह्यो । 

यो उपस्थितिले त झनै माओवादीका लागि अस्थिर सरकार बनाउनका लागि बाहना नपाउने कुरै भएन। तर, संविधान बनाउने प्रयोजन रहेका कारण पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेले सरकार गठन गर्दा केही समय प्रचण्डले खेल्न पाएनन् । 

संविधान जारी भएपछि भने प्रधानमन्त्री बन्न हुटहुटी चलेका एमाले नेता केपी शर्मा ओलीलाई प्रचण्डले उपयोग गरे । ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरी माओवादी प्रतिपक्षबाट सरकारमा उक्लियो । 

तर यो सरकार पनि नौ महिनाभन्दा बढी टिक्ने स्थितिमा रहेन।  कारण थिए– प्रचण्ड। त्यसबेला ओलीले संसदमा उभिएर हँस्यास्पद अभिव्यक्ति दिएका थिए, प्रचण्डलाई लक्षित गर्दै । ओलीले भनेका थिए– अरुणा लामाको गीत जस्तो भयो सहकार्य । मेरा साथी आज एकातिर फाट्यो भनेर आउनुहुन्थ्यो सिलाएर पठायो, भोलीपल्ट अर्कातिर ह्वाङगै ।

प्रचण्डले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्रीको सहमति गरे र नौ महिना सरकार चलाए । देउवासँगको सत्ता सहकार्यलाई धोका दिँदै प्रचण्डले ओलीसँगको सहकार्यमा ०७४ को चुनावको पूर्वसन्ध्यामा बाम गठबन्धनको घोषणा गरी अर्को उथुलपुथुल मच्चाए । 

बामपन्थी गठबन्धनले झन्डै दुई तिहाईको बहुमत ल्याएपछि प्रचण्डले आलोपालो प्रधानमन्त्री र पार्टी एकीकरणको प्रस्ताव गरी नेकपा गठन गरे । ओली प्रधानमन्त्री भए। तर, स्थिर स्थिति आउने अवस्थामा प्रचण्डलाई चिडचिडाहट भयो सम्भवतः अनि नेकपामा दरार उत्पन्न भयो । ओलीले प्रधानमन्त्रीको कुर्सी छाडेनन् भने नेकपाको पहिलो अध्यक्षको जिम्मेवारी पनि नत्यागेपछि प्रचण्ड घेराबन्दीमा जुटे । अनि, ओलीले प्रतिनिधि सभा भंग गरेपछि अरु बाहना नै चाहिएन । नेकपा विभाजनको स्थितिमा पुग्यो । 

एमाले र माओवादी सर्वोच्च अदालतको फैसलामार्फत ब्युँतियो। अनि, फेरि सरकारमा अर्को उथुलपुथुल ल्याउन प्रचण्डले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाए । र, सुरु भयो गठबन्धनीय राजनीतिक गलत अभ्यास । 

यो गठबन्धनको यात्रा ०७९ को निर्वाचनसम्म पुग्यो। निर्वाचनमा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो दलका रुपमा इन्ट्रि भयो । ५ औंमा राप्रवा र छैठौं जसपासहित जनमत र नागरिक उन्मुक्ति पार्टी प्रतिनिधि सभामा राष्ट्रिय दलका रुपमा भित्रिए। प्रचण्डले विभाजन गराउन मद्दत गरेको एमालेको माधवकुमार नेपाल पक्षको नेकपा एकीकृत समाजवादी नौ सांसदसहित सदनमा पुग्यो । 

नयाँ सरकार गठनका बेला देउवाले प्रधानमन्त्री र राष्ट्रपति पदमा अडान कायम राखेपछि प्रचण्डले अर्को उथुलपुथुल मच्चाए । रातारात उनी एमालेसँगको सहकार्यमा सहमति गरी प्रधानमन्त्री निर्वाचित भए । 

तर, जब विश्वासको मत सर्वाधिक पाए त्यसपछि सहमतिविपरित राष्ट्रपति कांग्रेसलाई दिने अडानमा प्रचण्ड उभिए। गठबन्धन भत्कियो र पुरानै गठबन्धन कायम भयो । 

जुन अवस्थाको युटर्नको अर्को नाम ‘पुस १०’ भनी अहिले राजनीतिक र मिडियावृत्तमा चर्चामा रहने गरेको छ। 

पछिल्लो राजनीतिक घटनाक्रममा प्रचण्डले उक्त गठजोडलाई समेत भत्काएर एमाले, रास्वपा, जसपासँगको नयाँ गठबन्धन बनाएका छन् । यो अर्को फरक उथुलपुथुल ल्याएका प्रचण्डले सरकार विस्तारको काम पनि गर्नेछन् । तर, भागवन्डा र सरकारका पक्षमा खुल्ने दलको स्थितिअनुसार मन्त्रालय र मन्त्री बाँडफाँड गरिने बालुवाटारमा अहिले निचोड निकालिएको छ । 

प्रचण्डले खुला राजनीतिमा गरेका यस्ता अस्थिर सत्ता अभ्यास एकातिर रहे पनि अर्कातिर भूमीगत राजनीतिमा पनि सोही प्रकारले आफूलाई चलायमान बनाएका थिए । त्यसैले अहिले कांग्रेसले उनलाई अस्थिरताका महारथी भनी टिप्पणी गर्दै आएको छ । 

कांग्रेस सभापति देउवाले त पदाधिकारी बैठकमा प्रचण्डलाई ‘धोकेबाज’ भनी ब्रिफिङ गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्