सत्ता गठबन्धनमा खटपट

सत्ता गठबन्धनको बैठक सोमबार बिहान बस्ने

आइतबार, फागुन २०, २०८०

काठमाडौँ– सत्ता गठबन्धनको बैठक सोमबार बिहान ८ बजे बस्ने भएको छ । 

सत्ता गठबन्धनमा खटपट देखिन थालेपछि बैठक बस्न लागेको एक नेताले बताए ।

ती नेताका अनुसार बैठकमा राष्ट्रिय सभा अध्यक्षका विषयमा केन्द्रित हुने बताइएको छ । कांग्रेसले अध्यक्षमा सत्ता गठबन्धनका दुई दलले दाबी गरेपछि उत्पन्न असमझदारीलाई छलफल गरिने बताइएको छ । साथै, मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत छलफल हुने ती नेताले बताए । 

त्यस्तै, टीआरसी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र र प्रमुख सत्तासाझेदार कांग्रेसबीच खटपट देखिएको हो ।  

लामो समयदेखि मतभेदका बीच संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेपछि आइतबारै विधेयक टुङ्ग्याउने तयारी स्वरूप कानुन समितिको बैठक बसेको थियो । तर, उक्त बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी कानुनमन्त्री धनराज गुरुङले केही विषय थप स्पष्ट पार्नुपर्ने भन्दै समय मागेपछि समितिकै बैठक निष्कर्षमा पुग्न सकेन । 

लगत्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई छलफल बैठकमा बोलाएका थिए । बैठकमा देउवाले मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्रीको चाहना र माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा गरेको दाबीबारे छलफल गरेको छन् ।

यस्तै, आइतबार साँझ (केहिबेर अगाडी) प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए । लगत्तै रास्वपा सभापति रवि लामिछानेसमेत भेटवार्ता गर्न बालुवाटार पुगेका छन् । बालुवाटारको छलफलमा एमाले महासचिव शंकर लामिछानेसमेत सहभागी भएको स्रोतले बताएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २१:३८
प्रतिक्रिया दिनुहोस्