टीआरसीबारे सत्ता गठबन्धनमा मतभेद

सत्ता गठबन्धनमा खटपट, परराष्ट्रमन्त्रीको भ्रमण स्थगित

आइतबार, फागुन २०, २०८०

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ । 

मन्त्री साउद आइतबार राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने कार्यक्रम रहेको थियो । तर सत्ता गठबन्धनमा खटपट देखिएपछि उनको भ्रमण स्थगित भएको हो । 

टीआरसी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र र प्रमुख सत्तासाझेदार कांग्रेसबीच खटपट देखिएको हो ।  

लामो समयदेखि मतभेदका बीच संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेपछि आइतबारै विधेयक टुङ्ग्याउने तयारी स्वरूप कानुन समितिको बैठक बसेको थियो । तर, उक्त बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी कानुनमन्त्री धनराज गुरुङले केही विषय थप स्पष्ट पार्नुपर्ने भन्दै समय मागेपछि समितिकै बैठक निष्कर्षमा पुग्न सकेन । 

सत्ता गठबन्धनमा खटपट देखिएपछि आइतबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई छलफलमा बोलाएका छन् । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्