सत्ता गठबन्धनमा धक्का !

कांग्रेसका सिटौलाको ‘सेटिङ’मा माओवादीको धक्का, पहिला धर्मशिला अहिले को होला ?

बुधबार, फागुन १६, २०८०

काठमाडौँ– बल्ल तल्ल राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएर त्यसको अध्यक्षको सपना देखेका नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको सेटिङमा गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले धक्का दिएको छ। 

माओवादीको एजेन्डालाई संविधानमा समेत लिपिबद्ध गर्नका लागि भूमिका खेलेका सिटौलाले धोका पाउने अवस्था आएको छ। यद्यपि उनी उपप्रधान तथा गृहमन्त्रीको आशमा पनि छन् ।

‘सरकारको विषय के हुन्छ थाहा छैन, राष्ट्रिय सभामा भने सिटौलाको नेतृत्व स्वीकार हुने स्थिति छैन’, माओवादीका एक नेता भन्छन् ।

त्यसो त माओवादी उपमहासचिव जनार्दन शर्माले त राष्ट्रिय सभाको नेतृत्वमा पार्टीको दाबी रहने खुलासा गरिसकेका थिए। दाबी मात्र होइन अध्यक्ष नै हुने पनि उनको तर्क थियो। 

तर कांग्रेससँग सम्बन्धका लागि सँधैभरी पुलको जिम्मेवारी लिएका सिटौला दोस्रो पटक माओवादीको धोकाधडीमा पर्न लागेका हुन्। 

माओवादीलाई शान्ति प्रक्रियासम्म लैजानका लागि सिटौलाको भूमिका बलियो थियो । तर, ०६४ को निर्वाचनमा माओवादीको साथ पाइन्छ भन्ने सिटौलाका लागि झापामा धर्मशिला चापागाँईको उम्मेदवारी घातक भयो । उनी पराजित भए। बाहलवाला गृहमन्त्री हुँदा पराजित सिटौलाको राजनीतिक बिरासतमा ओरालो यात्रा त्यहिँदेखि सुरु भएको थियो। त्यसपछि त उनले जित निकाल्न नै सकेका छैनन् । 

चुनावमा पराजित भए पनि राष्ट्रिय सभा छिरेर त्यसको अध्यक्ष हुने आकांक्षा र लोभमा रहेका सिटौलाका लागि फेरि पनि माओवादी घातक साबित हुने निश्चित छ । 

राष्ट्रिय सभाको ठूलो दल बनेको माओवादीले अध्यक्षको निर्वाचनका लागि आफ्नै उम्मेदवार खडा गर्ने भएपछि सिटौलाको राजनीतिक जीवनको ठूलो ओहदामा पुग्ने सपना तुहुने सम्भावना छ । यसले गठबन्धनमा पनि खटपट ल्याउने निश्चित छ। किनभने औपचारिक रुपमा माओवादीले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ। जसमा एमालेले सहयोग गर्ने भित्री सहमति भइसकेको उच्च स्रोतले जनाएको छ ।

तर कसलाई उम्मेदवार बनाउने भन्नेबारे माओवादीले निधो गरिसकेको छैन । मन्त्रीमण्डल पुनर्गठन गर्दा गृहबाट नारायाणकाजी श्रेष्ठले हट्नुपरे उनै राष्ट्रिय सभाको अध्यक्षका उम्मेदवार हुन सक्ने माओवादी उच्च स्रोतले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्