न्याय परिषद्को बैठक

न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न परिषद्को सिफारिस

आइतबार, फागुन १३, २०८०

काठमाडौँ– न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज भएको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको हो ।

परिषद्ले चेतावनीसहित काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई महोत्तरी सरुवा गरेको छ । जिल्ला न्यायाधीश डा पशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसकेका छन् । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्