कांग्रेस महासमिति बैठक

कार्यभार सम्हाल्दा समस्याग्रस्त आर्थिक अवस्था क्रमश सुधार हुँदैछ : अर्थमन्त्री महत

मंगलबार, फागुन ८, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा.प्रकाश शरण महतले बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका अधिकांश विषयहरु कार्यान्वयनका क्रममा रहेको बताएका छन् ।

कांग्रेस महासमिति बैठकमा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशाका बारेमा प्रतिवेदन पेश गर्दै महतले आफुले अर्थमन्त्रालयको कार्यभार सम्हाल्दा आर्थिक अवस्था समस्या रहेपनि अहिले क्रमश सुधार हुँदै गएको दावी गरे ।

उनले पुँजीगत खर्चलाई व्यवस्थित गर्न स्रोतको उपलब्धताका आधारमा महत्वपूर्ण आयोजनाहरुमा बहुबर्षीय ठेक्काको सहमती दिने गरी नयाँ मापदण्ड जारी गरिएको जानकारी दिए । आवश्यकता र अपेक्षा अनुरुप राजस्व संकलन हुन नसकेको भएतापनि राजस्व परिचानलमा क्रमशः सुधार भएको उनले बताए । नेपाल राष्ट्र बैङ्कसँग निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशः खुकुलो बनाउँदै लगिएको र मौद्रिक नीतिको हालैको समीक्षामार्फत यसलाई थप लचिलो बनाइएको उनको प्रतिवेदनमा उल्लेख छ । उनले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत रहेको जानकारी दिए ।

त्यस्तै, सरकारले शुरु गरेका आर्थिक र वजेट प्रणाली सुधारका कार्यक्रमलाई थप विस्तार गरिने उनले बताए । आगामी वैशाख १६ र १७ गते सरकारले लगानी सम्मेलनको घोषणा गरी त्यसको तयारी शुरु गरेको, लगानी सम्मेलन अघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार गर्ने कार्य अगाडि बढाइएको अर्थमन्त्री महतको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वृद्धिमा निजि क्षेत्रले नेतृत्व लिने र सरकार नियमन,वितरण र पूर्वाधार विकासमा केन्द्रित हुने समेत प्रतिवेदनमा उल्लेख छ ।  

आर्थिक वृद्धिसंगै यसबाट प्राप्त प्रतिफललाई आम नागरिक विशेष गरि पछाडी परेका क्षेत्र वर्ग र समुदायमा पुर्याउनु नेपाली कांग्रेसको लक्ष्य रहेको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्