महासमितिमा देउवाको सम्बोधन- गठबन्धनबारे अहिले नै निर्णय गर्नु उचित हुँदैन

सोमबार, फागुन ७, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले आफ्नो इतिहासको रक्षा गर्दै भविष्यमा समेत जिम्मेवारीपूर्वक काम गर्ने बताएका छन् ।

महासमिति बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका सैद्धान्तिक मान्यता नीति र कार्यक्रम लोकतान्त्रिक मान्यताबाट निर्देशित हुने बताएका हुन् ।

उनले भने, ‘संविधानको कार्यान्वयन र रक्षा आजको मुख्य एजेण्डा हुन् । यो हाम्रो दायित्व पनि हो । संविधानको उचित कार्यान्वयनले देशमा शान्ति, सुशासन र विकास ल्याउन सकिन्छ । संविधानमाथि जनताको स्वीकार्यता र स्वामित्व हुन्छ ।’

उनले संविधान कार्यान्वयनमा देखिएको समस्या पहिचान गरेर शासकीय स्वरूपमा प्रतिकूल प्रभाव नहुनेगरी संशोधन गर्न छलफल प्रारम्भ गर्नुपर्ने बताए ।

देउवाले भने, ‘हामी गठबन्धनको सरकारमा छौं । प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि प्रहार भएपछि हाम्रो पहलमा गठबन्धन बनेको हो । गठबन्धन सरकार त्यसैको निरन्तरता हो । महासमितिमा पेस हुने सबै प्रतिवेदनले त्यसलाई समावेश गरेका छौं ।’

कुनै एक पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन गर्नुपर्ने उनको जिकिर छ । गठबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी भएको उल्लेख गरे । भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिले निर्धारण गर्नुपर्ने भएकाले त्यही बेलामा निर्णय गर्दा उचित हुने उनले बताए ।

आगामी निर्वाचनमा तीनै तहको सरकारमा बहुमत ल्याउनेगरी लाग्न उनले आह्वानसमेत गरे । बैठकमा पेस भएका प्रस्तावहरू सुझावको आधारमा परिमार्जनसहित पारित गर्ने सभापति देउवाको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्