गठबन्धनका कारण कांग्रेसको भोट घट्यो : नेता कोइराला

आइतबार, फागुन ६, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएको बताएका छन् ।

आइतबार काठमाडौँमा महासमिति बैठकमा सहभागी हुन आएका सदस्यका निम्ति आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अहिले सरकारमा सहभागी हुँदा रमाइरहेपनि यसका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएकोप्रति गम्भीर हुन नसकेको बताएका हुन् ।

देशैभर कांग्रेस कार्यकर्तामा गठबन्धनप्रति निराशा छाएको भन्दै महासमिति बैठकमा खुलेर यसबारे बहस गर्नुपर्ने उनले बताए । कोइरालाले अहिलेको निर्वाचन प्रणालीले कुनैपनि दललाई बहुमत दिन नसक्ने भएकाले निर्वाचन प्रणालीमा देखिएको समस्या समाधान गर्न कांग्रेसले पहल लिनुपर्ने धारणा राखे । निर्वाचन प्रणाली बदल्नका लागि अन्य दलहरुसंग छलफल गर्नुपर्ने उनको भनाइ छ ।

उनले महासमितिको बैठकले १५ महाधिवेशनको सुनिश्चितता गर्नका लागि गम्भीर हुनुपर्ने बताए । महासमितिलगतै महाधिवेशनको तयारी गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्