गठबन्धन गर्दा कांग्रेसलाई भयो घाटा, महामन्त्री थापाले देखाए यस्तो ‘डाटा’

शुक्रबार, फागुन ४, २०८०

काठमाडौं– गत निर्वाचनमा माओवादीलगायतका दलसँग गठबन्धन गरी चुनावी मैदानमा जाँदा कांग्रेसको मत घटेको डाटा महामन्त्री गगन थापाले देखाएका छन्। 

महासमिति बैठको पूर्वसन्ध्यामा जारी रहेको केन्द्रीय समितिको बैठकमा थापाले तथ्यांक नै प्रस्तुत गरी आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने तर्क पनि अघि सारेका छन्।

दुई चुनावको बीचमा १३.२ प्रतिशत मतदाता कांग्रेसले गुमाएको तथ्यांक बैठकमा पेस गरियो। २०७९ मा २०७४ जतिकै लोकप्रिय मतको हिस्सा कायम राख्न चाहिने मतभन्दा १५.७४ प्रतिशत कम पाएको थापाको तथ्यांक छ।

गठबन्धन गरी कांग्रेस ठूलो पार्टी भए पनि कार्यकर्ता र मतदातामा उत्साहचाहिँ नपाइएको थापाको कथनी थियो।  

गठबन्धनका कारण ७४ प्रतिनिधिसभा क्षेत्रमा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई मत राख्न पाएनन् भने २१ वटा संघीय क्षेत्रका एउटा पनि प्रदेश क्षेत्रमा आफ्नो पार्टीलाई प्रत्यक्ष मत राख्न पाएनन्। ४८ वटा प्रतिनिधिसभा क्षेत्रका प्रत्येक क्षेत्रका २ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्रै कांग्रेसका उम्मेदवार थिए।

कांग्रेसका पुराना मतदाता र कार्यकर्तामा अहिले पनि चुनाव चिन्ह रुप लोकप्रिय रहे पनि नेतृत्वको निर्णयका कारणले निर्वाचनमा गुनासो सुन्नु परेको थियो। 

कांग्रेस पहिलो पार्टी भए पनि लोकप्रिय मतचाहिँ नेकपा एमालेले पाएको थियो। अब गठबन्धन नगरी चुनावी मैदानमा जानुपर्नेसहितका विभिन्न प्रस्ताव महासमिति बैठकमा लैजाने तयारी भएको छ। 

कांग्रेसले काठमाडौंमा महासमितिको बैठक गर्ने भएको छ भने महाधिवेशन अर्को बर्षको मंसिरका लागि तोकिने प्रस्ताव पनि पेस हुनेछ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्