माओवादीको केन्द्रीय कमिटी बैठक

माओवादीको निष्कर्ष– रूपान्तरण अभियान सफल भयो

आइतबार, माघ २८, २०८०

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सफल भएको प्रतिवेदन पेश गरेका हुन् । 

बैठकमा सातवटा भौगोलिक र अन्य ३ वटा गैर भौगोलिक गरी १० प्रदेशका इन्चार्ज र अध्यक्षहरुले अभियानको प्रतिवेदन राख्दै बोलेका थिए ।

त्यस्तै, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रमुखले पनि बोलेका थिए ।

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्ने सबै नेताहरुले विशेष रूपान्तरण अभियान सफल र सार्थक भएको प्रतिवेदन पेश गरेको जानकारी दिए । उनले अभियानका क्रममा ७५ प्रतिशत नेता, कार्यकर्ता परिचालित भएका र अभियानले जनतामा माओवादी केन्द्रप्रति आशा जगाएको बताए ।

बैठकमा बोल्ने नेताहरुले आगामी दिनमा पार्टी नेता, कार्यकर्ताहरूको कामको आधारमा मूल्यांकन गर्दै राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिनुपर्ने व्यवस्था गर्न माग समेत गरेका उनले उल्लेख गरे । अभियानले पार्टी नेता तथा कार्यकर्ताहरूको मूल्यांकनको आधार पनि राम्रो बनेको प्रवक्ता सापकोटाको भनाई छ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सोमबार ९भोलि० बिहान ११ बजे पुनः बस्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्