पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १२ मुद्दामा जमानत

शनिबार, माघ २७, २०८०

रावलपिन्डी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रावलपिन्डीको आतंकवादविरोधी अदालतले मे ९ मा भएको दंगासँग सम्बन्धित १२ वटा मुद्दामा जमानत दिएको छ।

खानका निकट सहयोगी तथा पाकिस्तानका पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई १३ वटा मुद्दामा जमानत दिएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।खानलाई पाकिस्तानी सेनाको मुख्यालय र आर्मी संग्रहालय आक्रमणका साथै सबै १२ मुद्दामा एक लाख पाकिस्तानी रुपैयाँ जमानत दिइएको छ।

एटिसी न्यायाधीश मलिक एजाज आसिफले जमानतको आवेदनमाथि सुनुवाइ गरेका थिए। अदालतले पिटिआईका संस्थापकलाई हिरासतमा राख्नुको कुनै औचित्य नभएको र मे ९ को घटनामा संलग्न सबै संदिग्धलाई जमानत दिइएको फैसला सुनाएको छ ।

खान र कुरेसीलाई फेब्रुअरी ६ मा अभियोग लगाइएको थियो। द एक्सप्रेस ट्रिब्युनका अनुसार यी दुवैलाई अदालतमा पेस गरिएको थियो र पूर्वप्रधानमन्त्रीलाई गत वर्षको मे ९ मा इस्लामाबाद उच्च न्यायालय ९आइएचसी० परिसरबाट गिरफ्तार गरिएको थियो ।

भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि गत मे ९ मा देशभर भड्किएको दंगासँग सम्बन्धित थुप्रै मुद्दामा इमरानविरुद्ध मुद्दा दायर गरिएको थियो । रावलपिन्डीमा दर्ता भएका उजुरीहरूमा जनरल हेडक्वार्टर (जिएचक्यू)को गेटमा आक्रमण, संवेदनशील संस्थाको कार्यालयमा दंगा र अन्य घटनाहरू समावेश छन् ।

उनले मुद्दाको पहिलो सूचना रिपोर्ट (एफआइआर)मा समावेश गरिएका दाबीहरूलाई अस्वीकार गरेका छन् । द एक्सप्रेस ट्रिब्युनका अनुसार अडियाला जेलबाट रिहा भएपछि पिटिआईका नेता शाह महमुद कुरेसीलाई पन्जाब प्रहरीले जिएचक्यूमा भएको आक्रमणको आरोपमा पक्राउ गरेको थियो ।

गत वर्षको मे ९ मा भएको हिंसाको अनुसन्धान गरिरहेको उच्चस्तरीय संयुक्त अनुसन्धान टोली (जेआइटी)ले गत वर्षको जुलाईमा पूर्वप्रधानमन्त्री खानलाई जिएचक्यूमा भएको आक्रमणसहित दुई आतंकवादी मुद्दामा नामित गर्ने निर्णय गरेको थियो ।

कारबाहीमा नयाँ धाराहरू समावेश गरिएसँगै पिटिआई प्रमुखलाई हिंसाको योजना बनाएको र उक्साएको आरोप लगाइएको थियो। पाकिस्तानमा फेब्रुअरी ८ मा भएको आमनिर्वाचनको परिणाम निकै प्रतीक्षित रहेका वेला इमरान खानलाई जमानत दिइएको हो ।

बिहीबार भएको निर्वाचनको मतगणना जारी छ। पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ। तर, प्रायः पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)द्वारा समर्थित स्वतन्त्र उम्मेदवारहरूभन्दा पछाडि छ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्