कांग्रेसमा रमाइलो छः केन्द्रमा देउवाको मनोपोली, कोशीमा कोइरालाको पेलान भारी

शनिबार, माघ २७, २०८०

काठमाडौं– कोशी प्रदेशमा हिक्मतकुमार कार्कीको सरकार अपदस्त भएपछि गठबन्धनमा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाका खास मानिएका उद्धव थापालाई नियुक्त गराइयो। 

सत्ता समीकरणमा विश्वासको मत नपाउँदा थापा पनि अपदस्त हुँदै संविधानको धारा ७६ को ५ को सरकारका लागि रस्साकस्सी हुँदा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भए। 

कार्कीको विद्रोहले पाएको यो मुख्यमन्त्रीको पदमात्र थिएन, कांग्रेसभित्र इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाको प्रभावकारी उपस्थिति पनि बन्यो। यसको प्रमाण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभापति देउवा र कोइरालाबीच लिखित सहमतिको विन्दुसम्म पुग्ने स्थिति थियो।

कोइरालाको यो राजनीतिक ताकत यतिमा मात्र सीमित छैन। सरकार विस्तारका क्रममा कांग्रेसभित्रको आन्तरिक पेलानको प्रतिक्रियाका रुपमा पनि देखा परेको छ। 

मुख्यमन्त्री कार्कीले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दा केन्द्रमा जसरी कोइराला पक्षलाई सभापति देउवाले व्यवाहार गरेका थिए, त्यसरी नै कोशीमा उत्तर पाइरहेका छन्। यसको प्रमाण उद्धब थापाले मन्त्रिपरिषद विस्तारमा देखाएको असन्तुष्टि हो।  

गठबन्धन नगरी चुनावी प्रतिस्पर्धामा जाने प्रस्ताव गरेका कोइरालाको बोलीलाई देउवाले नजरअन्दाज गरेका थिए। यति मात्र होइन संघीय सरकारमा पनि कोइराला पक्षलाई देउवाले प्रतिनिधित्व मात्र गराएका थिए। तर, क्रियाको प्रतिक्रिया हुन्छ भनेझैं कोशी प्रदेशमा मौका पाएका कोइराला पनि के कम, मुख्यमन्त्रीमा आफूनिकट केदार कार्कीलाई नियुक्त गराउन सफल भए। त्यसपछि केन्द्रमा देउवाले जसरी पेलेका छन्, कोशीमा त्यसैगरी उनले पनि पेल्ने नीतिअनुसार मन्त्रिपरिषद विस्तार गर्दा संस्थापनका एक जनालाई मात्र प्रतिनिधित्व गराए। 

‘कांग्रेसमा रमाइलो छ अहिले। जसरी केन्द्रमा कोइरालाको भूमिकालाई सभापतिले त्यति चासो दिएका छैनन् त्यसैगरी पाएको मौकामा कोशी प्रदेशमा कोइरालाले पनि संस्थापन पक्षलाई त्यसैगरी तुजुक देखाउन थाले’, एक नेता भन्छन्। 
 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्