घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजान्छौँ : मन्त्री रिजाल

बिहीबार, माघ २५, २०८०

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बिक्री प्रवर्द्धन गर्ने बताएका छन् ।

आज उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्द्धन विषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने बताएका हुन् । 

ठूला उद्योगी हाबी नहुने गरी स–साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो । उनले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने समेत बताए ।

मन्त्री रिजालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ‘ब्रान्डिङ’ गर्ने नीति लिएको छ । सोही अनुरुप आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रवर्द्धनसम्बन्धी मार्गदर्शन समेत प्रस्तुत गरिएको थियो ।

छलफलमा अर्थमन्त्री डा.प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङकोसमेत उपस्थिति थियो । अर्थमन्त्री डा.महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्