हिन्दू राष्ट्रका विषयमा कांग्रेसमा दुई कित्ता, भण्डारीको अभियानमा दमननाथको लालमोहरको अर्थ

बुधबार, माघ २४, २०८०

काठमाडौं– धर्म निरपेक्षतासहित गणतन्त्रको पक्षमा उभिएको नेपाली कांग्रेसमा स्पष्ट दुई कित्ता देखिएको छ। हिन्दू सनातन धर्म सापेक्ष राष्ट्र हुनुपर्ने मत महासमितिमा बहुमतमा रहँदा रहँदै पनि सभापति शेरबहादुर देउवाले यसअघि नजरअन्दाज गरिदिएको विषय अब भने पेचिलो बन्ने सम्भावना छ। 

‘यो सम्भावना मात्र होइन, महासमिति बैठकको मूल एजेन्डा बन्नेछ’, धार्मिक सापेक्ष हिन्दू राष्ट्र हुनुपर्ने अभियान नै घोषणा गरिसकेका नेता शंकर भण्डारीनिकट भन्छन्,‘अब रोकिनेवाला छैन।’

यसअघि पनि हिन्दूत्वको विषयमा कांग्रेसमा आवाज उठाइरहेका भण्डारीलाई कांग्रेस पृष्ठभूमीका अधिकारकर्मी दमननाथ ढुंगानाको सहयोग रहेको छ। ढुंगाना उक्त अभियानका संरक्षक समेत रहेका छन्। 

नेपाली कांग्रेसका तर्फबाट सभामुख बनिसकेका ढुङ्गाना भारतीय संस्थापनको नजिक पनि मानिन्छन्। सनातन हिन्दूत्वको विषयमा उनको नयाँ संस्करणले कांग्रेसभित्र अर्को पहिरो जान सक्नेछ। 

महासमिति बैठक सन्निकट रहेका बेला हिन्दूत्वको आवाज जोडतोडका साथ उठाउने भण्डारीले संयोजक बनेर अभियान नै चलाउँदा यसले राजावादी, प्रसाईंलाई धक्का दिनुको साटो कांग्रेसभित्रको गणतन्त्र पक्षधरलाई काउन्टर हुने निश्चित रहेको बताइन्छ।

त्यसो त धर्मको विषयमा सभापति शेरबहादुर देउवा पनि सकारात्मक रुपमा अघि बढ्नुपर्ने बाध्यता आई लागेका कारण गठबन्धनमा प्रश्न उठाउन सक्षम भएका थिए। 

उनले संविधानमा धर्मको विषयमा विवाद रहेका कारण यसमा विचार गरेर संशोधन गर्न सकिने विषय उठाएका थिए। यहि विषय अब महासमितिको बैठकमा प्रवेश पाए यसलाई पार्टीको अपनत्वका रुपमा अघि बढाउनुपर्ने भण्डारीलगायतको अभियानको दबाब रहनेछ। 

तर कांग्रेसमा नेता कृष्ण सिटौला, विमलेन्द्र निधि, महामन्त्री गगन थापालगायतका नेता धर्म सापेक्षताको खिलाफमा छन्। यस्तो अवस्थामा एजेन्डाका रुपमा विषय प्रवेश पाउला भन्ने जोखिमपूर्ण प्रश्नमा भण्डारीनिकट भन्छन्,‘पहिला नै बहुमतको प्रस्ताव लिखित रुपमा गएको हो तर सभापतिको आग्रहका कारण हामीले एक पटकका लागि चुप लाग्यौं, अब सह्य हुन सक्तैन।’

त्यसो त हतारमा संविधान जारी गर्नुपरेका कारण धर्मको विषयमा फरक मत राखेका भण्डारीलाई तत्कालिन सभापति सुशील कोइरालाले पछि संशोधन गरिने भन्ने आश्वासन दिएका थिए। सोही कारण संविधानमा धर्म निरपेक्ष लेखिएको थियो।
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्