अरुण चौधरी पक्राउ प्रकरणः बुढानिलकण्ठदेखि शितल निवाससम्म हल्लियो, बालुवाटार आक्रामक

शुक्रबार, माघ १९, २०८०

काठमाडौं– बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किर्ते गरेको अभियोगमा पक्राउ गरिएका उद्योगी तथा व्यावसायी अरुण चौधरी प्रकरणले कांग्रेस नेतृत्व तरङ्गीत भएको छ। 

कांग्रेसका प्रतिनिधि सभा सदस्य समेत रहेका डलर अर्बपति विनोद चौधरीका कान्छा भाई अरुण पक्राउ गरिएका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुढानिलकण्ठ र शितल निवाससम्मको दबाब रहेको बताइन्छ। 

कांग्रेस सभापति शेरबहादुर देउवादेखि राष्ट्रपति रामचन्द्र पौडेलसम्मले प्रचण्डलाई फोन गरी यस प्रकरणमा टिठलाग्दो दबाब दिइरहेको बताइन्छ। तर, बालुवाटार भने अझ आक्रामक भएर अघि बढ्ने निधोमा पुगेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा र  सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरी अनुसन्धान जारी राखेको छ। यस प्रकरणमा डलर अर्बपति बिनोद चौधरीलाई समेत अनुसन्धान गरिनुपर्ने आवाज उठिरहेको छ। 

प्रधानमन्त्री प्रचण्डले बन्द भएका सरकारी उद्योग सञ्चालनको घोषणा र अभियान नै चलाएका छन्। यस उपक्रममा बाँसबारी छाला जुत्ता कारखाना पनि चलाउनुपर्ने हुन्छ। जसको सम्पत्ति खोज्दा व्यक्तिका नाममा पुगिसकेको विषयले चर्चा पाउनेछ। त्यसअघि नै उक्त जग्गा सरकारको नाममा ल्याएर छाला जुत्ता कारखाना सुचारुको प्रबन्ध मिलाउने प्रधानमन्त्री प्रचण्डको चाहना छ। 

यो मात्र होइन अब प्रधानमन्त्री प्रचण्डले भृकुटी कागज उद्योग, जनकपुर चुरोट कारखानालगायतका सरकारी जग्गा किर्ते गरेका विषयमा पनि अनुसन्धान अघि बढाउनका लागि निर्देशन दिइसकेका छन्। रुग्ण भएका उद्योगदेखि बन्द भएकालाई पुनःसञ्चालनको अभियानमा जो–जो बाधक भए पनि प्रचण्ड आक्रामक भएर अगाडि बढ्ने बालुवाटार स्रोतले जनाएको छ।

‘जस्तोसुकै हाइप्रोफाइलको नाम आए पनि अनुसन्धान रोकिनेवाला छैन। निर्दोष डराउनुपर्ने स्थिति छैन, दोषीले तर्सिए हुन्छ’, उच्च स्रोतले भन्यो,‘प्रधानमन्त्री अगाडि बढिसक्नुभयो, कुनै पनि अवरोधको सामना गर्नुहुनेछ।’

प्रचण्डका लागि यी अनुसन्धान र छानबिनका कारण राजनीतिक रुपमा पद नै नरहने अवस्था समेत आउन सक्ने खतरा छ। तर, यो खतरासँग अब नडराउने भनेर अगाडि बढेका प्रचण्डले भनेका थिए,‘पद जान्छ भनेर जनताका निम्ति काम गर्न छाडिन्न।’

त्यसो त नेपाली कांग्रेसमा नै सरकार फेर्नुपर्ने मत प्रकट नभएको होइन। पछिल्लो पटक सभापति देउवानिकट रहेका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले प्रचण्डको नेतृत्व हटाएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका थिए। 
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार