चिकित्सा शिक्षाको विकासले देशमा रोजगारीको ढोका खुल्छ : स्वास्थ्यमन्त्री बस्नेत  

बुधबार, माघ १०, २०८०

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अगामी शैक्षिक सत्रदेखि १०० देखि ३०० शैयाका अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुने दाबी गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सा शिक्षाको विकासले देशमा रोजगारीको ढोका खुल्ने बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयले १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्सको पढाई गर्ने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एमविविएसको पढाई गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेको उनले बताए । उनले अब अस्पतालहरुले विरामीको उपचार मात्र गर्ने नभई चिकित्सा क्षेत्रको जनशक्ति पनि उत्पादन गर्नुपर्ने उल्लेख गरे । मन्त्री बस्नेतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको सेवा विस्तारका लागि मन्त्रालय सकारात्मक रहेको बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. युवानिधि बसौलाले ३०० शैयाको अस्पताल बनाउने घोषणा सरकारले गरेको भए पनि अहिलेसम्म १०० शैयामै सञ्चालनमा रहेको बताए । पछिल्ला दिनमा अस्पतालले आफ्नो सेवा सुधारमा बिशेष ध्यान दिएको उहाको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्