झापामा १० मेगावाटको सौर्य ऊर्जा

आइतबार, माघ ७, २०८०

झापा– कोशी प्रदेशमा पहिलो पटक शिवसताक्षी नगरपालिका–४ सालमारामा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाले १० मेगावाटको विद्युत् उत्पादन सुरु गरेको छ ।

सोलार प्यानलमार्फत फुलफेजमा उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमा जोडिएको छ । यहाँबाट उत्पादित बिजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइसकेको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताए । 

निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको विद्युत् उत्पादन गर्न सक्नु कोशी प्रदेशका लागि गौरवको विषय भएको उनको भनाइ छ । चार वर्षअघि सुरु भएको परियोजना रु ८० करोडको लगानीमा २१ बिघा जमिनमा निर्माण गरिएको छ । 

करिब ७५ प्रतिशत माछापुच्छ्रे र सिभिल बैंकको वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत सर्वसाधारणको शेयरबाट रकम जुटाएर निर्माण गरिएको उनले जानकारी दिए। पूर्वपश्चिम राजमार्गको दूधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा परियोजनास्थल  छ । आयोजना र प्राधिकरणबीच २०७८ मङ्सिर १२ मै विद्युत् खरिद प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले गर्ने सम्झौता भएको थियो । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्