कोशीमा वार्ता समितिले पहिचान पक्षधरसँग छलफल अगाडी बढाउने

आइतबार, माघ ७, २०८०

विराटनगर– कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवम् नामाकरण विवाद वार्ता समितिका संयोजक कमल प्रसाद जबेगुले पहिचान पक्षधरसँग औपचारीक छलफलको प्रक्रिया अगाडी बढाउने तयारी भएको बताएका छन् ।

वार्ता समिति गठनबारे जानकारी दिन विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संयोजक जबेगुले संविधान र कानुनका आधारमा प्रदेशको नामाकरणको विवादलाई समाधान गरिने बताएका हुन् । 

मन्त्री जबेगुले चाडै नै समितिको बैठक बसेर आन्दोलनरत पहिचान पक्षधरहरुलाई वार्तामा बोलाउने जानकारी दिए । उनले पहिचान पक्षधरहरुद्वारा ८२ जना प्रदेश सांसदहरुलाई जिल्ला प्रवेशमा लगाइएको रोक हटाउन पहिलो एजेण्डा लिएर जाने पनि प्रष्ट पारे । अहिलेको कोशी प्रदेश सरकारले वार्ता बाटै समस्याको समाधान गर्ने नीति लिएको उनले बताए । उनले पहिचान पक्षधरले उठाएका विषयलाई सम्भव भएसम्म सम्बोधन हुनेगरी छलफल प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

माघ ६ गते बसेको कोशी प्रदेश मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगुको संयोजकत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती सदस्य र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेल रहेको तीन सदस्यीय नामाकरण विवाद वार्ता समिति गठन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्