सन्दिप लामिछानेले लेखे मार्मिक पत्र : म सकिएको छैन, अन्तिम साससम्म न्याय खोज्नेछु

मंगलबार, माघ २, २०८०

काठमाडौँ- जबरजस्ती करणीको आरोपमा अदालतबाट दोषि ठहर भएलगत्तै सन्दीप लामिछाने क्रिकेटबाट अलग भएका छन् । जिल्ला अदालत काठमाडौंले सजाय निर्धारण गरेकै दिन उनले सफाइ नपाएसम्म राष्ट्रिय टीमबाट नखेल्ने स्वघोषणा गरेका हुन् ।

सन्दिपले क्यानलाई पठाएको पत्रमा अदालतले सुनाएको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । तर, आफू षडयन्त्रमूलक योजना तथा मिडिया ट्रायलको शिकार भएको उनको भनाइ छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरेको पत्रमा सन्दीपले भनेका छन्, ‘म आफ्नो जीवन, करियर र भविष्यको अग्नीपरीक्षामा छु । मलाई एउटा अपराधिक षड्यन्त्रमा शूली चढाइएको छ ।’ अदालतले वास्तविकताभन्दा टाढा रहेर फैसला गरेको भए पनि न्याय प्रणाली र कानूनप्रतिको आफ्नो विश्वास नधर्मराएको सन्दिपले उल्लेख गरेका छन् । ‘ममाथि गरिएको फैसला षड्यन्त्र, क्रोध, डिजाइन र एकमात्र बयानमा आधारित छ जस्तो लाग्छ । एकातर्फ म मिडियाको ट्रायल र डिप्रेसनबाट गुज्रिरहेको छु भने अर्कातर्फ उत्तिकै बलियो र न्यायको आशामा छु,’ उनले पत्रमा लेखेका छन् ।

सन्दिपले आफू एक खेलाडी र क्रिकेटप्रेमीका हिसाबले आफूलाई क्रिकेटबाट टाढा सोच्नै नसक्ने बताएका छन् । उनी लेख्छन्, ‘मलाई थाहा छैन म कहाँ हुनेछु, तर म जहाँ पनि हुनेछु क्रिकेट र मेरा सबै साथीहरूको उत्कृष्ट प्रदर्शनलाई नजिकबाट नियालिरहने छु । क्रिकेट खेलाडी र क्रिकेटप्रेमी दुवै रूपमा म आफूलाई कहिल्यै क्रिकेटबाट टाढा सोच्न सक्दिनँ ।’

अन्तिम साससम्म न्यायको खोजी गर्ने सन्दीपको अठोट छ । पत्रमा उनले भनेका छन्, ‘म समाप्त भएको, हराएको र त्यागिएको छैन । म सबै प्रकारका निराशा, चिन्ता र डिप्रेसनबाट बाहिरिने प्रयास गर्दैछु । सम्माननीय अदालतबाट छिट्टै न्यायको पर्खाइमा छु र मेरो अन्तिम साससम्म न्याय खोज्नेछु ।’ सन्दिपले आफू आर्थिक समस्यामा रहेकाले क्यानबाट पाउन बाँकी रकम भुक्तानीका लागि अनुरोध पनि गरेका छन् ।  (नेपालप्रेसबाट)

 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्