संघीयतापछि विकासले गति लियो : मुख्यमन्त्री पाण्डे 

सोमबार, माघ १, २०८०

पर्वत– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता लागू भएपछि मुलुकमा विकासले गति लिएको दाबी गरेका छन् । 

पर्वतको फलेबास नगरपालिका(३ शंकरपोखरीमा आज आयोजित सहिद हरिदत्त तिवारीको २१औँ स्मृतिसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तीनै तहको सरकार बनेपछि विकासमा पहुँच पुगेको बताए ।

ठूला योजना संघले, मध्यमखालका प्रदेशले र साना योजनाको जिम्मा स्थानीय तहले लिँदा विकास निर्माणमा एकरूपता आएको उनको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले दुई सय ४० वर्ष लामो राजतन्त्रका कारण मुलुक पछाडि परेको उल्लेख गर्दै बहुदलीय व्यवस्था आएपछि मुलुकमा चौतर्फी विकास भएको दाबी गरे । लामो समयदेखिको खानेपानी समस्या झेलेको शङ्करपोखरीवासीको समस्यालाई इङ्गीत गर्दै मुख्यमन्त्री पाण्डेले राजा महेन्द्रको पालामा राखिएको खानेपानीको योजनाको समस्या अझै पनि समाधान हुन नसकेको बताए । 

गण्डकी प्रदेश सरकारले आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो । आर्थिक गतिविधि बढाउनका लागि युवालाई गाउँमा नै बस्ने वातावरण बनाएर कृषिमा लगाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्