जलविद्युत् आयोजना

सेतीखोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न

बिहीबार, पुस २६, २०८०

पर्वत– दक्षिण पर्वतको पैंयुँ र विहादी गाउँपालिकामा निर्माण गरिएको सेतीखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको छ ।

पैयुँखोला हाइड्रोपावर कम्पनीले निर्माण गरेको तीन दशमलव पाँच मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको काम हालै सम्पन्न भएको हो । आयोजनाले सोमबारदेखि परीक्षणसमेत थालिसकेको छ । विसं २०७५ देखि निर्माण सुरु भएको आयोजनको काम पाँच वर्षमा सकिएको हो । 

आयोजनाको मुहान पैंयुँ गाउँपालिका वडा नं २ वेउलीवासको छचन्नेमा रहेको छ भने विद्युत् गृह विहादी गाउँपालिका–६ शालिग्रामको घाङ्ग्रेमा रहेको छ । छचन्नेदेखि तीन हजार छ सय मिटर लामो पाइपलाइनमार्फत घाङ्ग्रेमा रहेको पावर हाउसमा पानी खसालिएको छ ।  

आयोजनाको इलेक्ट्रोमेकानिकल काम चाइनाको एशियन प्यासिफक प्रोजेक्ट कम्पनीले गरेको थियो । पाइपलाइनको काम के एण्ड के विल्डर्स विराटनगरले गरेको हो । आयोजनको सिभिलतर्फको निर्माण कार्य द ब्रदर्श विल्डर्स काठमाडौँले गरेको पर्वत पैंयुँखोला हाइड्रोपावर कम्पनीका सचिव डा शिवशङ्कर बस्यालले जानकारी दिए । 

नेपाल विद्युत् प्राधिकरणबाट विसं २०७४ मा उत्पादन अनुमतिपत्र लिएको आयोजनाले दुई वर्षभित्र उत्पादन गर्ने अवधि भए पनि कोरोना सङ्क्रमण र बाढीपहिराका कारण समायावधि दुई वर्ष थप गरिएको थियो । “झण्डै पाँच वर्षको अवधिमा निर्माण कार्य सम्पन्न गर्यौँ”, बस्यालले भने ।

आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि प्राधिकरणसँग पिपिए सम्झौतासमेत भइसकेको उनले बताए । अबको दुई साताभित्र राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गरिने तयारी भइरहेको बस्यालले बताए । 

आयोजना निर्माणका लागि सिद्धार्थ बैंक लिमिटेड र गरिमा विकास बैंकको संयुक्त लगानी रहेको छ । हालसम्म आयोजना निर्माणका लागि रु एक अर्ब १० करोड खर्च भइसकेको आयोजनाका सचिव बस्यालले जानकारी दिए । सोमवारदेखि परीक्षण उत्पादन थालेको आयोजनाले घाङग्रे–लुंखु प्रसारण लाइनको ३३र११ केभीए प्रसारण लाइनमा परीक्षण थालेको हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष राजकुमार बस्यालले जानकारी दिए । 

आयोजनाले  परीक्षण अवधिभर महाशिला गाउँपालिकाको वडा नं १, ३ र ५ तथा पैँयु गाउँपालिकाका वडा नं १ र ३ एवं विहादी गाउँपालिकाको वडा नं ६ मा रहेको प्रसारण लाइन, खम्बा आदि नछुन, टाढा हुन र सावधानी रहन अनुरोध गरेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्