राष्ट्रियसभा निर्वाचन

सत्ता गठबन्धनद्वारा राष्ट्रियसभा निर्वाचनका लागि समिति गठन

मंगलबार, पुस २४, २०८०

काठमाडौँ– सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा उठेका उम्मेदवारलाई विजयी बनाउन र आवश्यक समन्वय गर्न चार सदस्यीय समन्वय समिति गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले निर्वाचनका प्रचार–प्रसार लगायतका कामको लागि  समन्वय समिति गठन गरेको हो ।

समितिमा नेपाली कांग्रेसका तर्फबाट रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन रहेका छन् ।

गठबन्धनका उम्मेदवारलाई विजयी बनाउँन प्रचार-प्रसार सामग्री निर्माणदेखि मतदाता भेटघाट र उम्मेदवारसँग समन्वय गर्ने सम्मका कार्यको जिम्मेवारी समितिलाई दिइएको समिति सदस्य एवम जसपा नेता मनिस सुमनले जानकारी दिए ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १९ पदमा सत्ता गठबन्धनमा रहेका मुख्य चारदलहरु बीच सिट भागबण्डा भइ सोही अनुसार उम्मेदवारी परेको छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेस १०, माओवादी केन्द्र ६, एकीकृत समाजबादी २ र जसपाबाट १ जना साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्