राष्ट्रिय सभा निर्वाचन

कृष्ण सिटौलाः जनताबाट पराजित, उम्मेदवार बनाइए केन्द्रीय समिति निर्णय विपरित

सोमबार, पुस २३, २०८०

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालय मोरङमा उनले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिनिधि सभाको निर्वाचनमा झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित सिटौलालाई राष्ट्रिय सभाका लागि कांग्रेसले उम्मेदवार बनाएको हो।

यसअघि केन्द्रीय समितिको बैठकले अहिलेसम्म अवसर नपाएकालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, सिटौला यस्ता नेता निस्किए जो विवादबीच सर्वसम्मत उम्मेदवार सहमतिका आधारमा तय भए।

कांग्रेसमा नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेका तर पराजित भइसकेका उनलाई सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको निर्णय मिच्दै उम्मेदवार बनाउने निधो गर्दा यसको विपक्षमा रहेका डा. शेखर कोइरालाले पनि लेनदेनमा कुरा मिलेपछि सहमति जनाएको कांग्रेस उच्च स्रोतले जनाएको छ।

सिटौला राष्ट्रिय सभामा निर्वाचित भएर आउँदा त्यसको अध्यक्ष अथवा सरकार परिवर्तन हुँदा कांग्रेसबाट नेतृत्व गर्दै उपप्रधान तथा गृहमन्त्री बन्ने दाउमा छन्।

सिटौला तिनै हुन् जो तत्कालिन गिरीजाप्रसाद कोइराला सरकारमा गृहमन्त्री हुँदा सुडान घोटाला प्रकरणमा जोडिएका थिए। ‘राजनीतिक नेतृत्वले अहिले जनताबाट आएका सुझाव र आकांक्षालाई सम्बोधन गर्न सकेन। यस हिसाबले मूलधारका राजनीतिक दल त्यसमाथि पनि नेपाली कांग्रेसको निर्णय आश्चर्यजनक भयो।’

त्यसो त नयाँ अनुहार र नयाँ पुस्ताका विषयमा कांग्रेसमा महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले आवाज उठाएका थिए। तर, भागवन्डामा आफूले भनेका व्यक्ति समेत परेपछि उनीहरू मौन भए।

विधि, विधान र केन्द्रीय समितिको निर्णय समेत मिचेर सभापति देउवा अघि बढ्दा समेत त्यहाँ वैधताको प्रश्न कसैले नगरेको एक नेता बताउँछन्। बरु, भागवन्डामा भनेजति उम्मेदवार पाएपछि विधि र विधानको वास्ता नै नगरिएको स्पष्ट छ।

विज्ञहरूलाई राख्ने राष्ट्रिय सभालाई राजनीतिक भागवन्डाको केन्द्र बनाइएको छ। अझ, निर्वाचनमा पराजित नै भइसकेका मानिसलाई लगेर राजनीतिक अनैतिकताको प्रस्तुती गरियो।

सिटौला झापामा लिङदेनसँग १३ हजार बढी मतान्तरमा पराजित भएका थिए। सिटौलाले ३११५९ मत ल्याएका थिए भने लिङ्देनले ४४६१४ मत ल्याएका थिए। तर, राजनीतिमा बेथितिको उदाहरण बोकेर सिटौला राष्ट्रिय सभाका उम्मेदवार मात्र बनेका छैनन्, गठबन्धनको मतबाट जित निकाले उनी भाइटल रोलका लागि पनि उत्तिकै लुब्ध प्रयत्नमा छन्।

प्रतिक्रिया दिनुहोस्