नगरसभाको निर्णय कर्मचारीले फेरेपछि काठमाडौं महानगरका तीन कर्मचारी निलम्बनमा

मंगलबार, पुस १७, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिहरुले गरेको निर्णय कर्मचारीले आफुखुसी फेरेपछि तीन जना कर्मचारी निलम्बनमा परेका छन् । नगरसभाको कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको क्रममा आफूखुसी कर्मचारीले निर्णय गरेको पाइएपछि महानगरपालिकाका मेयर बालेन्द्र .बालेन) साहले आफ्नै सचिवालयका प्रमुख सहित तीन जना कर्मचारीलाई निलम्बन गरेका हुन् ।
निलम्बनमा पर्नेमा मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी छन् ।

उनीहरुमाथी नगरसभाको २३ औँ बैठकमा भएको निर्णय उल्ट्याएको आरोप लागेको छ ।

‘नगरसभाले गरेको एउटा निर्णयमा निलम्बनमा परेका कर्मचारीहरुले फरक ढंगको निर्णय गरेर निर्णय नै परिवर्तन गरिदिनुभयो। त्यसपछि कर्मचारीहरु निलम्बनमा पर्नुभएको छ,’ काठमाडौं महानगरपालिका स्रोतले भन्यो ।

मेयर बालेन्द्रले नगरसभाको निर्णय उल्टेको पाएपछि आफै यस प्रकरणको छानबिन गरेर तत्काललाइृ तीन कर्मचारी निलम्बन गरेका हुन् । यो प्रकरणमा थप कर्मचारी पनि तानिनसक्ने देखेर आन्तरिक छानबिन भईरहेको स्रोतले बताएको छ ।

स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल निलम्बनमा परेसँगै हिजो (सोमबार) महानगरमा आयोजित स्वास्थ्यको कार्यक्रम पनि शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले चलाएका थिए।


काठमाडौं महानगरको २३ औँ नगरसभा बैठकले महानगरपालिकाको १८ नम्बर वडाको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पाँचजना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर उक्त निर्णय विपरित निर्णय प्रमाणितकरण गर्ने बेला त्यस निर्णयमा एक जनाको नाम थप भयो । निर्णय भएभन्दा थप एक जनाको नाम आएपछि महानगरपालिकामा हल्लाखल्ला भयो ।

नगरसभाले निर्णय एउटा गर्ने, तर निर्णय प्रमाणितकरण गर्दा अर्काे एक जनाको संख्या थप भएर आउने भएपछि महानगरमा यो विषयले विवाद निम्तियो । त्यसपछि मेयर साहले आफै यस प्रकरणमा भएको के हो भनी खोजी थाले । नगरसभाले गरेको निर्णय विपरित त्यहाँ अहिले निलम्बनमा परेकी शाखा अधिकृत भगवती बिडारीको छोरीको नाम थप गरिएको पाइयो।

त्यसपछि छानबिन गर्दा नगरसभाकै निर्णय परिवर्तन गरेर बिडारीकी छोरीको नाम पनि त्यहाँ थपेर निर्णय प्रमाणीकरण भएको पाइयो ।

‘पाँचजना कर्मचारीलाई निरन्तरता दिने निर्णय भएकोमा ६ जनाको नाम आयो। त्यसबारे मेयर साबले खोज्दा भगवती बिडारीको छोरीले को इन्टर्नमा काम गर्न आउनुभएको रहेछ,’ स्रोतले भन्यो, ‘उहाँलाई नै फेरि स्वास्थ्यको काममा पठाउनका लागि उहाँहरूले नगरसभाको निर्णय परिवर्तन गरिदिनुभएको पाइयो । त्यसपछि कारवाही अगाडी बढेको हो ।’

यो विवादमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि तानिएका छन्। उनी अहिले बिदामा छन्।

नगरसभाको निर्णयहरू अन्तिम प्रमाणीकरण गर्ने काम प्रमुख प्रशासकीय अधिकृतले गर्ने चलन छ।

‘उहाँ (वसन्त अधिकारी) ले पहिला ६ जना भनेर आउँदा पनि हस्ताक्षर गर्नुभयो, पाँच जनाको लिस्टमा पनि उहाँले नै हस्ताक्षर गर्नुभयो। त्यसको छानबिन मेयर सावले गर्दा उहाँ पनि मुछिनु भएको छ,’ स्रोतले भन्यो।

स्रोतका अनुसार बिदा सकिएसँगै अधिकारी पनि निलम्बनमा पर्ने सम्भावना अधिक छ ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्