कांग्रेस सभापति र इतर नेता

कम्युनिस्ट नेता मञ्चभरी राख्छन् देउवा यता, गठबन्धन गर्न हुन्न भन्छन् कोइराला उता

सोमबार, पुस १६, २०८०

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतर समूहका नेता डा. शेखर कोइरालाबीच मतभेद कायम रहेको छ । केन्द्रीय समितिको बैठकमा बहुमतका आधारमा गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकालभरी काम गर्न दिने निर्णय गराएका देउवाले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा मञ्चभरी कम्युनिस्ट नेता राखेका थिए ।

राष्ट्रिय मेलमिलाप नीतिका अवसरमा गरिएको कार्यक्रममा देउवाले सहकार्य, सहअस्तित्व र संविधान निर्माणमा योगदान गरेका दलका नेतालाई निम्तो दिएको बताइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई निम्तो नदिएका देउवाले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका अध्यक्षलाई बोलाएका थिए ।

तर, कोइराला भने कम्युनिस्टसँगको गठबन्धन लोकतान्त्रिक नहुने र घातक हुने बताइरहेका थिए, अर्को कार्यक्रममा । यति मात्र होइन अहिलेको सरकारको नेतृत्व फेर्नुपर्ने मत उनले कायम राखेका थिए । कोइराला भन्छन्,‘सरकारको अहिलेको नेतृत्व फेर्नका लागि कांग्रेस तयार हुनुपर्छ, आफैं नेतृत्वमा पुग्ने स्थिति बनाउनुपर्छ ।’

तर देउवा त्यो मान्न तयार छैनन् । बहुमतको निर्णयले नै सरकारको नेतृत्व तत्काल परिवर्तन गर्न नहुने र प्रचण्डलाई कार्यावधिसम्म काम गर्न दिनुपर्छ भन्ने प्रस्ताव पारित गराइएको छ ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका कम्युनिस्ट नेतालाई देउवाले मञ्चमा राखेर कार्यक्रम गरिरहँदा कोइराला भने चुनावमा कम्युनिस्टसँग गठबन्धन गर्न नहुने बताइरहेका थिए । सोही मेसोमा उनले भने,‘हामी सभापति देउवाको निर्देशन मान्छौं तर सभापतिजी कसको निर्देशन मान्नु हुन्छ ?’

कांग्रेसमा देउवाले कोइराला पक्षलाई पेलेर नै जाने नीति अख्तियार गरेका कारण सुझाव पारित हुन नसकेको कतिपय बताउँछन् । ‘कांग्रेसभित्रको मतभेद र फरक विचारलाई सम्मान गरी अघि बढ्ने संस्कृति नै भएन बरु सभापति उल्टो हिँड्नुहुन्छ’, कोइरालानिकट एक नेता भन्छन्,‘कम्युनिस्ट नै हाम्रा प्रतिस्पर्धी रहेका बेला चुनावअघि गठबन्धन गरिनु सही होइन भन्ने विचारलाई सम्मान गर्नुपर्छ ।’

विचार मिल्ने लोकतान्त्रिक छवि भएका पार्टीसँग गठबन्धन गर्न सकिने कोइरालाको मत छ । बरु, चुनावपछि सरकार बन्ने अवस्था नरहँदा गठबन्धन गर्न सकिने कोइरालाले बताउँदै आएका छन् ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्