रविले गृहमन्त्री श्रेष्ठलाई भने- हराएको टाइटानिक भेटिएला, तर तपाईंहरूमा नैतिकता भेटिन्नँ

सोमबार, पुस १६, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटना राज्यको सिलसिलेदार अराजकता भएको टिप्पणी गरेका छन्। सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, कमाएर परिवार पाल्छु भन्ने आशा बोकेर गएको युवाको हत्या गरेको बताए।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गर्दै रविले भने, ‘साढे २ हजार भिडलाई नियन्त्रण गर्ने ल्याकत नभएको होइन, तर तपाईंको नेतृत्वमा देखिएको कमीकजोरीले प्रशासनले अब तपाईंलाई गम्भिरतापूर्वक लिँदैन। तपाईंहरू अहिलेसम्म गोली कतिबेला चलेको भन्नेमा स्पष्ट हुनुहुन्न। मन्त्रीज्यू निस्केपछि गोली चलेको कि पहिला चलेको तपाईंहरूले गोलमोटल जवाफ दिनुभएको छ । नैतिकताको कुरा यहाँ नगरौं। भुसको थुप्रोमुनि हराएको सियो भेटिएला। समुन्द्रमा हराएको टाइटानीक भेटिएला  तपाईंहरूलाई नैतिकता खोज्ने दुस्साहस गर्दिनँ। त्यो भेटिँदैन । म त्यता जान चाहन्न ।’

उनले मन्त्री ज्वालाले पनि घटना ढाटेको आरोप लगाए।

रविको प्रश्न थियो, ‘सीडीओको आदेशबिना नै गोली हानियो भन्ने कुरा आएपछि त्यसलाई निलम्बन गर्नुहुन्छ ? कि हिरासतमा राख्नुहुन्छ ? कानूनले के भन्छ ? तपाईंहरूले जहिले पनि सानो दर्जाको कर्मचारीलाई बलि चढाउने काम गर्नुभएको छ।’

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्