कोहलपुरमा सामुदायिक जीन बैंक स्थापना

आइतबार, पुस १५, २०८०

नेपालगञ्ज–  बाँकेको कोहलपुर नगरपालिकामा  ‘सामुदायिक जीन बैंक’  स्थापना गरिएको छ । 

गोर्खा युनाइटेड पब्लिक स्कुलमा कोहलपुरमा स्थापित सो बैँकको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र कृषि अनुसन्धान परिषद ९नार्क०का वैज्ञानिक डा मुकुन्द भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे । 

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई किटको विषयमा जानकारी दिने उद्देश्यले स्थापना भएको सो जीन बैंकमा ३५ खोपे तथा रैथाने घार, मुढे घार निर्माण गरिएको छ । घार विभिन्न प्रजातिका मौरी र भमराको बासस्थान हुनेछ । 

सो अवसरमा नगर प्रमुख आचार्यले संस्कृति, सम्पदा र प्रकृतिमाथि मानवीय आक्रमण बढेको उल्लेख गर्दै यसको संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले भने, “यस्ता कामका लागि साझा प्रयास आवश्यक हुन्छ ।”

नार्कका वैज्ञानिक डा.भट्टराईले बीउ, किट, डिएनएलगायत पाँच किसिमका जीन बैंकको स्थापनामा जोड दिँदै जीन बैंकको अवधारणाको विकास रैथाने किट र बालीको संरक्षणका लागि भएको बताए । उनले रैथाने बालीको संरक्षण र बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उल्लेख गर्दै जीन बैंकको विषयलाई विद्यालयको पाठ्यक्रममा राख्न सुझाव दिए । 

सामुदायिक जीन बैंक नेपाल, सञ्जालका संयोजक परमुल बस्नेतले जीन बैंक संरक्षण नहुँदा मानवीय जीवन सङ्कटमा पर्ने उल्लेख गर्दै किट, पशु र अन्नबालीको संरक्षण नहुँदा दीगो विकास हुन नसक्ने बताए ।  “पहिले रैथाने घर थिए, धोद्रा रुख हुन्थे, परालका टौवा हुन्थे र भमराको त्यहाँ बासस्थान हुन्थ्यो तर अहिले सबै बासस्थान नासिएका छन् । त्यसैले पनि यसको संरक्षण जरुरी छ” उनले भने । यसबाहेक बैजानाथ गाउँपालिकाको गाभर भ्यालीमा पनि यस अघि सामुदायिक जीन बैंक स्थापना भएको छ । 

संयोजक बस्नेतले सो जीन बैंकलाई बर्दिया, कैलाली, सुर्खेतलगायत जिल्लामा विस्तार गर्ने लक्ष्य भएको बताए । विसं २०७८ मा पहिलो पटक  सरकारले बाँकेमा ‘पुरमल घरायसी किट जिंक बैंक’ भनेर नामाकरण गरेर त्यसलाई घरमा नै स्थापना गरेर काम सुरु गरेको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्