राजनीतिक सल्लाहकारविहीन प्रधानमन्त्री

प्रमुख राजनीतिक सल्लाहकारबिहिनी प्रधानमन्त्री प्रचण्डः हरिबोलको राजीनामा अलपत्र

बिहीबार, पुस १२, २०८०

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका उपमहासचिव हरिबोल गजुरेल उपस्थित थिए । तर, त्यसक्रममा उनले दिएको राजीनामा स्वीकृत हुने या नहुने भन्ने विषयको कुराकानी त परै जाओस् त्यस सन्दर्भतिर बैठक प्रवेश नै गरेन ।

प्रचण्डको दबाबमा रहेका पदाधिकारी कसैले पनि गजुरेलको राजीनामाको विषयमा प्रश्न गरेनन् । गजुरेल अहिले बालुवाटार वा सिंहदरबारमा छैनन् । यस हिसाबले प्रधानमन्त्री प्रचण्ड प्रमुख राजनीतिक सल्लाहकारविहीन अवस्थामा छन् । उनले गजुरेलको राजीनामा स्वीकृत समेत गरेका छैनन् । 

प्रचण्डको सचिवालय हावी भएर सल्लाह नै लिन छाडिएपछि गजुरेलले राजीनामा बुझाएका थिए । ‘तलब र भत्ता खानका लागि मात्र त्यहाँ बस्नुको औचित्य देखिएन, दिएका सल्लाह प्रधानमन्त्री प्रचण्डले नमानेपछि राजीनामा दिएको हुँ’, गजुरेलले भनेका थिए । तर, उनको राजीनामा अलपत्र परेको छ। स्वीकृत नगरीकन अर्का प्रमुख राजनीतिक सल्लाहकार नियुक्ति हुने स्थिति पनि छैन ।

मन्त्री नै हेरफेरको तयारीमा रहेका प्रचण्डले उतिबेला नै गजुरेलको राजीनामा स्वीकृत गरी राजनीतिक सल्लाहकार नियुक्त गर्ने मनसाय बनाएको बालुवाटार स्रोतले जनायो। तर, गजुरेलको अनुभवका आधारमा सुविधा लिनका लागि मात्र तर कामै नलाग्ने उक्त पदमा जानका लागि को राजी होलान् भन्ने नयाँ चर्चा सुरु भएको छ।

‘सचिवालय र त्यसमा पनि प्रमुख स्वकीय सचिव भन्दा छोरी गंगा दाहाल हावी हुने स्थितिमा प्रधानमन्त्रीको सल्लाहकार भएर को जाला र’, माओवादीका एक स्थायी समिति सदस्य प्रश्न गर्छन्,‘गएर पनि काम लागिँदैन भन्ने उपमहासचिवको अनुभव नै काफी छ ।’

गजुरेलको राजीनामाको खास कारण भने अहिलेसम्म खुलाएका छैनन् । उनले नीतिगत बिषयबस्तुमा मात्र कुरा नमिलेका कारण राजीनामा दिएको बताएका छन् । तर, खास कारणचाहिँ उनले काम गर्न नपाउनु रहेको माओवादी नेताहरु बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्