नेपालमा यात्रा गर्दा सावधानी अपनाउनू, राजनीतिक हिंसाको खतरा छ : अमेरिका

सोमबार, पुस ९, २०८०

काठमाडौं - अमेरिकाले नेपालमा अझै पृथक् राजनीतिक हिंसाको सम्भावना रहेको भन्दै भ्रमणमा आउने आफ्ना नागरिकलाई सावधानी अपनाउन सूचित गरेको छ ।

अमेरिकाले नयाँ ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमण तय गरिसकेकाको हकमा पनि एक्लै पदयात्रा वा आरोहण नगर्न सुझाव दिएको हो ।

अमेरिकी विदेश मन्त्रालयले पुस २ मा जारी गरेकाे एडभाइजरीमा नेपालमा अझै पृथक् राजनीतिक हिंसाको सम्भावना रहेको उल्लेख छ।

‘पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ। शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली (सुरक्षा) अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’ उक्त ट्राभल एडभाइजरीमा भनिएको छ ।

आफ्ना नागरिक कसैले नेपाल भ्रमण गर्ने निर्णय गरेको भए प्रदर्शन र भीडबाट बच्न पनि विदेश मन्त्रालयले जारी गरेको एडभाइजरीमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्