पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न राप्रपाको माग

बिहीबार, पुस ५, २०८०

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै मन्त्री किरातीले “क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्” भनि दिएको प्रति गम्भिर आपत्ति प्रकट गर्दै तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले “क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्” भनि एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरि दिएको अभिव्यक्ति गैर संवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी छ । राष्ट्रिय प्रजातन्त्र पार्टी मन्त्रीको अभिव्यक्ति प्रति गम्भिर आपत्ति प्रकट गर्दछ ।’

‘संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हॅुदैन’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसँग राप्रपा जोडदार माग गर्दछ ।’

राजधानीमा बुधबार आयोजित कार्यक्रममा बोल्ने क्रममा क्रिश्चियनबाहेक अन्य धार्मिक सम्प्रदायलाई उनले संविधानविरोधीको संज्ञा दिएपछि विवादीत बनेका हुन्। यति मात्र होइन, उनी अझ उत्तेजित हुँदै भाषण दिन उद्दत बनेका थिए।

उनले क्रिश्चियनलाई मान्दिन भन्नेहरु देशद्रोही र संविधान विरोधी हुन् भन्दै त्यस्तालाई हतकडी लगाएर जेल हाल्नुपर्ने बताएका थिए ।

RPP_PR_sudan-kirati-1703165289.jpg

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्