मन्त्री हेरफेरको तयारी

मन्त्री फेर्दैछन् प्रधानमन्त्री प्रचण्ड, कांग्रेस गगन थापालाई बनाउन चहान्छ तर...

बुधबार, पुस ४, २०८०

काठमाडौं– बाँकी १ बर्षको अवधिलाई स्मरणीय बनाउने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा मन्त्री फेर्ने प्रस्ताव गरेका छन्।

माओवादीसहित कांग्रेस, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्री फेर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव छ। उनले नयाँ नाम समेत माग गरेको उच्च स्रोतको दाबी छ।

पुस १० गते प्रचण्डले प्रधानमन्त्री पद सम्हालेको १ बर्ष पूरा हुनेछ। तर, सोचेजस्तो गतिशील काम नभएका कारण उनी निराश छन्। त्यसैले मन्त्री फेर्ने प्रस्ताव गरिरहेको बताइन्छ।

प्रचण्ड आक्रामक र तिव्र गतिमा काम गर्ने मुडमा रहेको र त्यहि गति समात्ने मन्त्रीको आवश्यक हुने भएकाले पनि मन्त्री फेर्नुपर्ने निचोड निकालिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्य बताउँछन्।

तेस्रो कार्यकाल रहेको र यसैमा जनताले महशुस हुनेगरी सरकारको काम देखाउनुपर्ने प्रचण्डले प्रण गरेका छन् । तर अहिले कायम रहेका मन्त्रीले भने जस्तो काम गर्न नसकेको विभिन्न समिक्षा बैठकमा प्रचण्डको गुनासो थियो ।

प्रचण्डले नेकपा माओवादी केन्द्रबाट उपमहासचिव बर्षमान पुनः, सिन्धुलीका राजन दाहाललाई मन्त्री बनाउन चाहेको बताइन्छ । यता कांग्रेस सभापति देउवा भने महामन्त्री गगन थापालाई सरकारमा पठाउन इच्छुक छन्। तर, थापालेचाहिँ यसअघि नै मन्त्री नबन्ने एकै पटक प्रधानमन्त्री नै बन्ने चाहना राखेका छन् । त्यसैले पनि उनी देउवासँग संसदीय दलको चुनावमा उठेका थिए।

बर्ष दिन पुगेकै बेला मन्त्री फेर्ने कि राष्ट्रिय सभा निर्वाचनसम्म कुर्ने भन्ने विषयमा गठबन्धनमा सहमति हुन सकिरहेको छैन। राष्ट्रिय सभा कुर्दा मन्त्रीको हेरफेरको मिति माघको दोस्रो सातासम्म धकेलिनेछ ।

तर, त्यसअघि नै फेर्ने हो भने पुस १५ नकटाउँदा राम्रो हुने प्रचण्डको राय छ । अहिले सरकार र मन्त्रीको आलोचना बढिरहेको, विभिन्न प्रकरणहरुको चर्चाबीच काम हुन नसकिरहेको स्थितिको मापन गरी नयाँ ढंगबाट जानुपर्ने प्रचण्डको प्रस्ताव थियो ।

उच्च स्रोतका अनुसार प्रचण्डको प्रस्तावमा गठबन्धनका सबै नेता सकारात्मक रहेका छन् । तर, यो चर्चासँगै मन्त्रीका आकांक्षी बढी देखिने भएका छन् ।

यसअघि गठबन्धनका अन्य दलले मन्त्री फेर्ने विषयमा चासो नदिए माओवादीबाट सरकारमा रहेकालाई फेरेर भए पनि अगाडि बढ्ने प्रचण्डको योजना थियो । तर, अन्य दलले पनि मन्त्री फेर्ने विषयमा चासो देखाएका कारण प्रचण्ड रोकिएको बताइन्छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्