आदर्श र सिद्धान्तलाई स्थापित गर्दै अघि बढ्नुपर्छ : सभापति देउवा

मंगलबार, पुस ३, २०८०

गण्डकी– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउँदै लैजान सके बहुमत र त्यो नभए सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी, जनजाति, दलितलगायतको साझा देश भएको उल्लेख गर्दै सभापति देउवाले सबैलाई एकसाथ समेटेर लैजानुपर्ने बताए । “कुनै पनि पार्टीको बहुमत छैन, त्यसैले कुनै न कुनैसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ, आवश्यकता पनि यही हो”, उनले भने ।

कांग्रेसको आदर्श र सिद्धान्तमा अन्य पार्टी पनि आएका र त्यसमानेमा पार्टीको जित भएको उनको भनाइ थियो । सभापति देउवाले भने– “बहुदलीय प्रजातन्त्र हाम्रो सिद्धान्त र आदर्श हो, यसमा समावेशी र समानुपातिक पनि राखिएको छ ।” 

नेपाली कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले आम कार्यकर्ताको भावनालाई आत्मसात् गर्दै पार्टी सङ्गठनलाई अघि बढाउनुपर्नेमा जोड दिए । पार्टीका महामन्त्री गगनकुमार थापाले कांग्रेसका लागि काम गर्न धेरै अवसर रहेको उल्लेख गर्दै जनताको निरासा हटाउने गरी काम गर्न जरुरी भएको बताए । विधानमा उल्लेखित विषयको पालना गर्दै विधि र पद्धतिअनुसार पार्टी सङ्गठनलाई अघि बढाउने कुरामा सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले धेरै सङ्कट पार गरेर आएकाले विद्यमान समस्याको सहजै समाधान गर्नसक्ने जिकिर गर्नुभयो । हरेक समय चुनावको चिन्ता गर्ने नभई देशको चिन्ता गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गुटका कारण कांग्रेस कमजोर बन्न नहुने भन्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानका लागि सबैको सकारात्मक सोच र क्रियाशीलता आवश्यक हुने बताए । पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस सहमहामन्त्री जीवन परियार, पूर्वमहामन्त्री शशाङ्क कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र शङ्कर भण्डारी, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको भएको थियो । –रासस

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्