सामाजिक न्याय, सुशासन र समृद्धिका लागि दिनरात खटिरहेको छु : प्रधानमन्त्री

बुधबार, मंसिर २७, २०८०

पाँचखाल– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि आफु दिनरात खटिरहेको बताएका छन् ।

बुधबार काभ्रेपलाञ्चाकको पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्कको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिका लागि हुने भन्दै त्यही संकल्पका साथ अहिले पनि दिनरात खटिरहेको बताएका हुन् ।

उनले अघिल्लो वर्ष सरकारले समयमै अनुदानको मल उपलब्ध गराएको र आगामी वर्षका लागि पनि अहिलेदेखि नै लाग्न निर्देशन दिएको बताए । आउँदो वर्षको नीति र कार्यक्रमबारे संसदमा र जनस्तरसम्मै बृहत रूपमा छलफल गरेर केही नयाँ कार्यक्रम ल्याउने सरकारको तयारी रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले पाँचखालमा स्थापना गरिएको महिला उद्यमी हरित पार्कले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने योजना अघि सारेको  बताए । यस परियोजनाले हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने, व्यावसायिक उत्पादनहरूमा नवीन विचार, प्रविधि र सीपको विकास गर्न मद्दत गर्ने उनको विश्वास छ । उहाले प्रधानमन्त्रीको हैसियतले पहिलो पटक हाइड्रोजन गाडी चढ्ने र यसले हरित क्रान्तिका लागि सन्देश दिने बताए ।

उहाले काठमाडौं विश्वविद्यालयमा हाइड्रोजन गाडीको प्रयोगमा बारेमा जानकारी लिएको जिकिर गरे । उनले नेपालमा हरिक क्रान्तिको युग शुभारम्भ गर्ने क्रममा औद्योगिक ग्राम स्थापना निकै सकारात्मक भएको बताए ।

इको टुरिजममा केन्द्रित सेवा क्षेत्रसहित कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगसमेत स्थापना गरिने परियोजनाको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् । पार्कलाई पर्यटन, उत्पादन र सूचना तथा प्रविधि गरी मुख्यतः तीनवटा क्षेत्रमा विस्तार गरिएको छ । जसमा पहिलो पर्यटन अन्तर्गत सेवा क्षेत्र र पर्यावरणीय पर्यटन क्षेत्र रहेको छ । नेपालमा यस किसिमको पहिलो नमुना पार्कको निर्माणपश्चात यसलाई सबैभन्दा सुन्दर र सफा औधोगिक ग्राम बनाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्रीले बताए ।  

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्