कांग्रेस इतर पक्षको बृहत भेला

शेखरले देखाए सांगठनिक शक्ति, गगनसँग सहमति भएपछि प्रदेशसम्मका नेता एकै ठाउँ

बुधबार, मंसिर २७, २०८०

काठमाडौंकोशी प्रदेशमा आफू पक्षका नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सफल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापनलाई धक्का दिनेगरी काठमाडौंमा प्रदेशसम्मका नेताको बृहत भेलालाई सम्बोधन गरेका छन्।

महामन्त्री गगन थापासँग मनमुटाव रहेको चर्चाबीच मंगलबारको सहमतिपछि बुधबार गौशालामा बृहत भेला गरिएको छ। यो भेला सभापति शेरबहादुर देउवालाई चेक एन्ड ब्यालेन्समा राख्नेलगायत आगामी महासमिति बैठकमा कोइरालाको शक्ति देखाउने पूर्वकार्यका रुपमा पनि लिइएको छ।

जिल्ला सम्मेलनको पूर्वसन्ध्या तथा प्रदेश सम्मेलन चलिरहेका समयमा भएको कोइराला पक्षको भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ। आगामी महाधिवेशनमा सभापतिका सोलिड उम्मेदवार रहेका कोइरालाले संस्थापन पक्षलाई धक्का दिनका लागि पनि भेलाको आह्वान गरेका थिए।

कांग्रेसमा कोइराला देउवाका विकल्पका शक्ति हुन् भन्ने भेलाको सन्देश हो। आगामी महासमिति बैठकका एजेन्डाका निम्ति पनि बृहत भेलाले केही एजेन्डा तय गर्नेछ, सहभागी हुन आएका एक नेता भन्छन्,‘संस्थापनले एक पक्षीय ढंगले मात्र पेलेर जाने कुरा सह्य हुनेछैन भन्ने पनि कुरा उठ्नेछ।

केन्द्रीय समिति बैठकमा देउवा पक्ष हावी भए पनि अब कांग्रेसभित्रका अन्य छलफलमा कोइरालाका एजेन्डा पूर्णतय सम्बोधन नगरी जान नसकिने सन्देश भेलाले दिनेछ।

महामन्त्री थापा भने अर्को समूह बनाउने तयारीमा थिए। यसो हुँदा अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित प्रदीप पौडेलको एउटा समूह बन्न सक्ने लख काटिएको थियो। यसैकारण पनि थापा र कोइरालाबीच केही समय बोलचाल नै बन्दसम्मका समाचारहरू सतहमा आएका थिए।

तर नेता अर्जुननरसिंह केसीले भने कोइराला र थापालाई सहमति गराउने मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए। केसी महामन्त्री थापाका नाताले ससुरा पनि हुन्। उनी संस्थापनइतर समूहमा रहेका कारणले नै कोइरालाथापाको मिलन गराउन सफल भएको बताइन्छ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्