शेखर कोइरालाले बोलाए इतरपक्षको बैठक

सोमबार, मंसिर २५, २०८०

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहका नेताहरुको बैठक बोलाएका छन् । आसन्न महासमिति बैठक, राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफलका लागि उनले बैठक आह्वान गरेका हुन् । उनले इतरपक्षका पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र नेताहरुलाई बोलाएका छन् ।

बैठक मंसिर २६ गते (भोलि) का लागि तय भएको छ । शेखरद्वारा आह्वान भएको आफू निकट नेताहरुको बैठकमा कांग्रेस महामन्त्री गगन थापा जाने वा नजाने भन्ने अन्यौलमा रहेका उनी निकट स्रोतले बताएको छ । स्रोतका अनुसार उक्त बैठकमा गगन सहभागी नहुने सम्भावन बढि रहेको छ । गगनले सोही दिन बारा जिल्लामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको समेत बताइएको छ ।

पछिल्लो समय महामन्त्री थापा र नेता कोइरालाबीच दरार आएको छ । स्रोतका अनुसार लामो समयदेखि उनीहरुबीच भेटवार्तासमेत हुन सकेको छैन । कांग्रेसको महासमिति बैठक आगामी पुष १६ देखि १९ गते ललितपुरको गोदावरीमा हुने कार्यतालिका रहेको छ । तर, पार्टी सभापति शेरबहादुर देउवा भने महासमिति बैठक सार्न चाहन्छन् । महामन्त्रीद्वय थापा, विश्वप्रकाश शर्मा र संस्थापन इतर समूहका नेताहरु महासमिति बैठक सार्न नहुने पक्षमा रहेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्