हाम्रा कोही शत्रु छैनन् : अध्यक्ष ओली

आइतबार, मंसिर २४, २०८०

त्रिशूली– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

‘समृद्धिको लागि सङ्कल्प यात्रा–२०८०’ को क्रममा शनिबार राति नुवाकोट आइपुगेका अध्यक्ष ओलीको आज आइतबारसम्मको नुवाकोट बसाईमा ‘सन्देश सभा’लाई सम्बोधन तथा सरोकारवालासँगको अन्तरक्रियामा दुई छिमेकी राष्ट्र चीन र भारतसहित संसारका सबै देशसँग मित्रवत् व्यवहार अपनाउनुपर्ने बताए ।

“हामी असंलग्न परराष्ट्र नीति अपनाउछौँ । कतैतिर ढल्कदैनौँ । कसैको स्वार्थमा कुद्ने छैनौँ । हाम्रो परराष्ट्र नीति स्पष्ट छ ।” उनले भने, “हाम्रा कोही शत्रु छैनन्, सबै मित्र छन् । तर, ती सबै मित्र राष्ट्रबाट मित्रवत व्यवहार पाउनुपर्छ ।”

अध्यक्ष ओलीले पोखरा र लुम्बिनी विमानस्थल आफ्नो अग्रसरतामा चिनियाँ सरकारको सहयोगमा तयार गरेको दाबी गर्दै अहिलेको सरकारले सञ्चालनमा ल्याउन नचाहनु चिनियाँ लगानी निरुत्साहित बनाउन खोजेको होकी भन्ने लागेको गुनासो गरे । पार्टीको केन्द्रीय पदाधिकारीसहित पुष्पलाल (मध्यपहाडी) राजमार्गको स्थलगत भ्रमणमा रहनुभएका अध्यक्ष ओलीले ‘अपेक्षाअनुसार काम नभएको’ भन्दै वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्ने आरोप लगाए ।

“काम गरेको केही देखिएन”, उनले भने, “सरकारको सेवा प्रवाहको अवस्था कमजोर छ भन्ने लागेको थियो । राजमार्गको निर्माणमा भएको ढिलाईले थप पुष्टि भयो ।”

पुष्पलाल (मध्यपहाडी) राजमार्गको पश्चिम नेपालको बैतडीस्थित झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्याङसम्मको भ्रमणमार्फत ‘सम्बन्ध स्थानीयः सन्देश राष्ट्रिय’ दिन नेकपा (एमाले) केन्द्रित रहेको छ ।

बैतडीस्थित झुलाघाटबाट सुरु भएको यात्राको दशौँ दिन शनिबार नुवाकोट आइपुगेको अध्यक्षसहितको केन्द्रीय पदाधिकारीको समूहले जिल्लाको बट्टार र छहरे बजारमा आयोजित सन्देश सभालाई सम्बोधन, सरोकारवालासँग अन्तरक्रिया, भूकम्पले क्षति पु¥याए पश्चात पुनःनिर्माण हुन नसकेको नुवाकोटको सात तले दरबार क्षेत्रको अवलोकनसहित आजै सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको छ । –रासस

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार