Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिममा शिक्षण अस्पतालसहित चिकित्सा विश्वविद्यालय बन्छ : प्रधानमन्त्री

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमले ६ सय शय्याको शिक्षण अस्पतालसहित देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय पाउन लागेको बताएका छन् । 

धनगढीमा शुक्रबार आयोजित सुदूरपश्चिम महोत्सव उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘गेटा चिकित्सा विज्ञान विश्वविद्यालय बन्ला कि नबन्ला भन्ने आशङ्का अब कसैले नगर्नु होला । विश्वविद्यालयभित्र ६ सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुनेछ ।’

उनले विधेयक तयार भएर छलफल भइरहेको बताए । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक अहिले राष्ट्रिय सभामा छलफलका क्रममा छ । ‘अब छिट्टै विधेयक पारित गरेर कक्षा सञ्चालन हुनसक्ने अवस्थामा पुग्दैछौं,’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशले चिकित्सा विज्ञान विश्वविद्यालय पाउने सौभाग्य प्राप्त गर्दैछ ।’

प्रधानमन्त्रीले आगामी क्याबिनेटको बैठकबाट फाप्लालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने पनि बताए । कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाहबारे पनि भारतसँग ठोस सहमति भइसकेकाले आवश्यक कार्यहरू अघि बढिरहेको उनको भनाइ छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा कर्णाली–चिसापानी १० हजार मेघावाट विद्युत् निर्माण आयोजनाको प्रक्रिया पनि अघि बढाइएको उनले बताए । ‘पञ्चेश्वर परियोजना अघि बढाउने सहमति भइसकेको छ, केही दिनभित्र डीपीआरको घोषणा हुन्छ । बैतडीको झुलाघाट र परशुराममा मोटरेबल पुल बनाउने निर्णय पनि भएको छ,’ उनले भने सुदूरपश्चिम मेरो प्राथमिकतामा छ ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  २१:४७
प्रतिक्रिया दिनुहोस्