रुस–युक्रेन युद्ध

युक्रेनी गुप्तचरद्वारा पूर्वयुक्रेनी राजनीतिज्ञको मस्कोमा हत्या

बिहीबार, मंसिर २१, २०८०

मस्को– युक्रेनका संसद् सदस्य इल्या किभाको बुधबार मस्को नजिकैको एउटा होटल पार्कमा साइलेन्सर (आवाज नआउने) हतियारद्वारा हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

अज्ञात आक्रमणकारीले साइलेन्सरसहितको सानो बन्दुकबाट किभाको हत्या गरेका हुन् ।

समाचार समिति तासका अनुसार उनी बसेको होटलको पार्कमा उनको शव भेटिएको थियो । 

सरकारी आरआईए नोभोस्ती समाचार समितिका अनुसार युक्रेनको रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशनालय (जियुआर)ले किभाको मृत्युको जिम्मेवारी लिएको छ । जियुआरका प्रवक्ता एन्द्रे युसोभले टेलिभिजनमा उनको हत्यायमा जियुआरको संलग्नता स्वीकार गरेका छन् । 

ओडिन्त्सोभो जिल्लास्थित सुपोनेभो गाउँको होटलमा किभाको शव फेला परेपछि मस्को क्षेत्रका अनुसन्धानकर्ताहरूले हत्याको आपराधिक मामिला खोलेका छन् । प्रहरी अधिकारीहरू घटनास्थल पुगेर घटनाको सबै परिस्थिति स्पष्ट गरिरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार