शरणार्थी प्रकरण : खाणलाई थुन्ने वा छाड्ने विषयमा मंसिर २८ मा निर्णय हुने

बिहीबार, मंसिर २१, २०८०

काठमाडाैं - नक्कली शरणार्थी प्रकरणका प्रतिवादी पूर्वगृहमन्त्री बालकृष्ण खाणको थुनछेकबारे अर्को बिहीबार निर्णय हुने भएको छ । गोलाप्रथाबाट छानिएका न्यायाधीशको इजलासले उनी थुनामै रहने कि धरौटी वा साधारण तारेखमा रिहा हुने विषयमा आदेश दिनेछ ।

शुक्रबार उच्च अदालत पाटनको संयुक्त इजलासले यस प्रकरणमा थुनामा रहेकाहरू तथा सरकारले दर्ता गराएको निवेदनमाथि अन्तिम आदेश दिएको थियो । तर, खाणको हकमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको फरक–फरक राय आएपछि तेस्रो न्यायाधीशको इजलासमा पेस हुने भएको हो ।

२८ मंसिरमा गोलाप्रथाबाट दुवै न्यायाधीशको रायसहितको प्रतिवेदन एक न्यायाधीशको इजलासमा पेस हुने उच्चका उपरजिस्ट्रार तीर्थराज भट्टराईले बताए । गत शुक्रबार उच्चले थुनामा रहेकामध्ये नौजनालाई थुनामै राख्ने, ६ जनालाई धरौटीमा रिहा गर्ने र चारजनालाई साधारण तारेखमा रिहा गर्ने फैसला सुनाएको थियो ।

पाटनका न्यायाधीश पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्न सकिने राय व्यक्त गरेका थिए भने न्यायाधीश खरेलले थुनामै राख्नुपर्ने फैसला गरेका थिए । पीडितसँग खाणले रकम नलिएको, अनुसन्धान अधिकारी र अदालतमा पनि इन्कारी बयान गरेको, मुद्दाका सहप्रतिवादीबाट पोल नभएको र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले समेत शरणार्थीसम्बन्धी प्रतिवेदनमा खाणको चासो नरहेको भनी बयान दिएकाले खाणलाई धरौटी लिई छाड्ने निर्णय पाण्डेले गरेका थिए ।

न्यायाधीश खरेलले भने जिल्लाकै आदेश सदर गर्नुपर्ने फैसला गरेका थिए । तत्कालीन गृहसचिव पाण्डे र केशव दुलालको मोबाइलको मेसेजका आधारमा खाणलाई तत्काल छाड्न नहुने उनको फैसलामा उल्लेख छ । दुई न्यायाधीशको एकमत हुन नसकेपछि फरक रायसहितको प्रतिवेदन तयार भएकोमा अब तेस्रो न्यायाधीशको इजलासमा त्यो पेस हुने भएको थियो । उच्च अदालत नियमावलीको नियम १२ अनुसार तेस्रो न्यायाधीश जसको रायमा सहमत हुन्छन्, त्यही उच्चको अन्तिम फैसला हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्