चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन

बुधबार, मंसिर २०, २०८०

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरेको छ । देशको वर्तमान आर्थिक अवस्था र वित्तीयस्थितिबारे बुधबार सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो आंकलन गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चालू आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न सुरु भएकाले ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको भनाइ छ ।

यस्तै, उपभोक्ता मूल्यबृद्धिमा सुधार आउने पनि अपेक्षा गरिएको छ । भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले मूल्यवृद्धिमा सुधार आउने राष्ट्र बैंकको अपेक्षा रहेको छ ।

देशको आर्थिक स्थितितर्फ आर्थिक वर्ष २०७९÷०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको छ । जुन २०७९ असोजभन्दा १ प्रतिशत बिन्दुले कम हो । तर, मौद्रिक नीतिले लिएको ६.५ प्रतिशतको लक्ष्यभन्दा केही बढी छ । खाद्य तथा पेयपदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि उच्च रहेको छ । २०८० असोजमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ८.४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८ प्रतिशत रहेको छ ।

यस्तै, बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको पनि जनाइएको छ । लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले घटेको छ भने व्यापार घाटा ३.३ प्रतिशतले घटेको छ । २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालू खाता ५९ अर्ब रुपैयाँले बचतमा रहेको छ ।

गत वर्षको तुलनामा विदेशी लगानीको आप्रवाह बढेकोले शोधान्तर बचत २०८० असोजसम्म ९९ अर्ब रुपैयाँ कायम भएको छ । २०७९ असोजसम्म ८ करोड रुपैयाँ जति विदेशी लगानी आएकोमा चालू आर्थिक वर्षको असोजसम्म ३ अर्ब ३८ करोड रुपैयाँ प्राप्त भएको देखाएको छ ।

यस्तै, शोधान्तर बचत भएसँगै विदेशी विनिमय सञ्चिती बढ्दै २०८० असोजमा १६ खर्ब ४३ अर्ब अर्थात १२.३ अर्ब अमेरिकी डलर पुगेको छ । साथै, पर्यटक आगमन सन् २०२२ को १० महिनाको तुलनामा ७१ प्रतिशतले बढेको छ भने वैदेशिक रोजगारीको लागि जाने व्यक्तिहरु अघिल्लो दुई आर्थिक वर्षमा बढेको भएपनि चालू आर्थिक वर्षको तीन महिनासम्म २१ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको छ । बैंक तथा वितीय संस्थाहरूको निक्षेप गत वर्ष ८.२ प्रतिशतले बढेकोमा चालू वर्ष १४.९ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा १०९ अर्ब रुपैयाँले बढेको छ । तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकाले कर्जा प्रवाह थप बढ्ने राष्ट्र बैठकको आँकलन छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्